काठमाडौं । गएको साता सेयरबजारमा चार दिन कारोबार भयो । चार दिनमा तीन दिन नेप्से घट्यो भने एक दिन सामान्य बढेर बन्द भयो । आइतबार, सोमबार र मंगलबार घटेको बजार बुधबार सार्वजनिक विदाका कारण कारोबार भएन भने बिहीबार १७ अङ्क बढ्यो । समग्रमा गतसाता नेप्से ८१ दशमलव ९५ अङ्कले घटेर दुई हजार सात सय ३६ दशमलव ४८ विन्दुमा झरेको छ ।
चार दिनमा ३५ अर्ब नौ करोड रुपैयाँको सेयर किनबेच भएको छ । दैनिक औसत कारोबार आठ अर्ब ७७ करोड रुपैयाँको भएको छ ।
लगातार सात दिन घटेको सेयरबजार बिहीबार रङ्ग परिवर्तन गर्दै हरियो बनेपछि लगानीकर्ता यस साता बजार बढ्नेमा आशावादी बनेका छन् । अर्थतन्त्रका सूचकहरू सकारात्मक रहेको तथ्याङ्क सार्वजनिक भएपछि सेयरबजारमा सकारात्मक असर परेको विश्लेषण विश्लेषकहरूले गरेका छन् ।
यस्तै ब्याजदर सस्तो हुनु र बैंकहरूले मार्जिन प्रकृतिको कर्जा बढाएका र संस्थागत लगानीकर्ताले सेयरको खरिद बढाएका कारण पछिल्लो दुई सातायता कारोबार रकम पनि केही बढेको छ । यसले बजारमा आशा बढाएको लगानीकर्ताहरू बताउँछन् ।
अर्कोतर्फ सेयरलगानीकर्ताले नरुचाएका गभर्नर महाप्रसाद अधिकारी आफ्नो कार्यकाल सकेर अबको केही दिनमा बिदा हुँदैछन् । यही कारण पनि लगानीकर्ताले बजारमा चलहपहल बढाउन सक्ने देखिन्छ । तर, अबको गभर्नर को बन्ने हुन् त्यसको निक्र्योल नहुँदासम्म लगानीकर्ता पर्ख र हेरको रणनीतिमा देखिन पनि सक्छन् । यसले फेरि बजारलाई केही दिन साइडवेज प्रवृत्तिमा राख्न सक्छ ।
ब्याजदर घटेको छ, मौद्रिक नीतिमा गरिएको समीक्षाका कारण बैंकहरूको नाफा बढ्ने सम्भावना देखिएको छ । यसले सेयरबजारलाई सकारात्मक प्रभाव पार्छ । ब्याजदर सस्तो हुँदा बैंकमा पैसा निक्षेप राख्नभन्दा सेयरबजारबाट बढी फाइदा लिन सकिने भएकाले लगानीकर्ताले सेयरको खरिद चाप बढाउन सक्छन् । यसले सूचकमा सकारात्मक असर पार्नसक्छ । बजार घटे पनि कारोबार रकममा देखिएको उत्साहले बजारलाई तत्काल तल झर्न दिने सङ्केत भने देखिँदैन ।
गत साता लगानीकर्ताको सम्पत्ति एक खर्ब ३६ अर्ब रुपैयाँ गुमेको छ । बजार पुँजीकरण ४६ खर्ब ७९ अर्बबाट घटेर ४५ खर्ब ४३ अर्बममा झरेको छ । साधारण सेयरतर्फको बजार पुँजीकरण पनि एक सातामा ४४ अर्ब रुपैयाँ घटेर १५ खर्ब १८ अर्ब रुपैयाँमा झरेको छ ।