काठमाडौं । काठमाडौं फिन्टेक र एसियन बैंकरबीच सम्झौता भएको छ । नेपाल र भुटानको बैंकिङ तथा फिन्टेक उद्योगलाई विश्वस्तरीय वित्तीय ज्ञान तथा नेटवर्कमा जोड्ने विषयमा सम्झौता भएको हो । काठमाडौं फिन्टेकले ट्याब ग्लोबलको नेपाल र भुटानका लागि आधिकारिक प्रतिनिधिका रूपमा काम गर्ने गरी यो समझदारी गरेको कम्पनीले जनाएको छ ।
सम्झौताअनुसार नेपाली तथा भुटानी बैंकिङ तथा फिन्टेक प्रोफेसनलले द एसियन बैंकर, द बैंकिङ एकेडेमी, ट्याब इन्साइट्स तथा वेल्थ एन्ड सोसाइटीजस्ता ग्लोबल प्लेटफर्ममा पहुँच दिलाउने काठमाडौं फिन्टेकले जनाएको छ । ‘हामी काठमाडौं फिन्टेकसँगको यो साझेदारीप्रति निकै उत्साहित छौं । नेपालको वित्तीय क्षेत्र डिजिटल रूपान्तरणको यात्रामा छ र यस प्रक्रियालाई ग्लोबल नलेज एक्स्चेन्ज तथा नेटवर्किङले अझ मजबुत बनाउने छ,’ ट्याब ग्लोबल अध्यक्ष इम्यानुएल ड्यानियलले भने, ‘हामी नेपाली तथा भुटानी वित्तीय संस्थाहरूलाई विश्वस्तरीय अवसर प्रदान गर्न प्रतिबद्ध छौँ ।’
नेपाल र भुटानका बैंक तथा फिन्टेक उद्योगको क्षमता अझ विस्तार गर्न ट्याब ग्लोबलजस्तो प्रतिष्ठित संस्थासँगको सहकार्य कोशेढुंगा सावित हुने काठमाडौं फिन्टेकका संस्थापक सञ्जीव सुब्बाले बताए । ग्लोबल बैंकिङ अभ्यास, डिजिटल वित्तीय सेवा, तथा नवीनतम प्रविधिहरूमा नेपाली तथा भुटानी बैंकिङ प्रोफेसनललाई जोड्ने अवसरले उत्साहित भएको पनि उनले बताए ।