काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) र मलेसियाको जेएसजे कलेजबीच शैक्षिक समझदारी भएको छ । दुई वटा शैक्षिक संस्थाहरूको बीचमा कार्यक्रमहरूको आदानप्रदान गर्ने, अनुसन्धान तथा परियोजनामा सहकार्य गर्ने, प्रविधि र स्रोतको साझा प्रयोग, तालिम तथा सेमिनार आयोजना गर्नेलगायतका विषयमा समझदारी भएको हो ।
समझदारीमा नेकका सहायक प्राचार्य इन्जिनियर सह–प्राध्यापक मोहनध्वज केसी र जेएसजे कलेज मलेसियाका चिफ कार्यकारी अधिकृत डा. के हरिकृष्णनले हस्ताक्षर गरेका छन् । सहायक प्राचार्य केसीले समझदारीले दुई कलेजको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न, विद्यार्थीहरूको पढाइ र अनुसन्धानलाई अझ फराकिलो बनाउन टेवा पुग्ने बताए । ‘विद्यार्थीहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्न, पढाइको गुणस्तरीयता कायम गर्न तथा विद्यार्थीहरूलाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमै एक्सपोज हुने अवसर प्रदान गर्न विभिन्न देशका प्रतिष्ठित कलेजहरूसँग हाम्रो सहकार्य भइरहेको हुन्छ’, उनले भने ‘त्यसै अनुरूप मलेसियाको प्रतिष्ठित कलेज जेएसजे कलेजसँग पनि शैक्षिक समझदारी कायम गरिएको हो ।’
जेएसजे कलेज सीपमा आधारित शिक्षा प्रदान गर्ने मलेसियाको उत्कृष्ट कलेज हो । यसलाई मलेसियाको मानव संसाधन मन्त्रालयअन्तर्गतको जबातन पेम्बाङ्गुनन केमारिहनले फाइभ स्टार दिएको छ । विगत १० वर्षदेखि कलेजले विश्वव्यापी औद्योगिक उच्च दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको छ ।