वासिङ्टन । अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले ४३ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाउने बारेमा विचार गरिरहेको खुलासा भएको छ । तर, कूटनीतिक र सुरक्षा अधिकारीहरूले तयार पारेको सिफारिसको मस्यौदामा ११ देशहरूलाई ‘रातो’ सूचीमा राख्न सुझाव दिएको थियो ।
रातो सूचीमा रहेका देशका नागरिकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेश गर्न पूर्णरूपमा निषेध गरिनेछ । ती देशहरूमा भुटानसहित अफगानिस्तान, क्युबा, इरान, लिबिया, उत्तर कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुएला र यमन समावेश छन् ।
यसबाहेक १० वटा देशका नागरिकलाई सुन्तला सूचीमा राखेको छ । यी देशका भिसामा तीव्र प्रतिबन्ध लगाउनेछ । जसमा बेलारुस, इरिट्रिया, हैटी, लाओस, म्यानमार, पाकिस्तान, रुस, सियरा लियोन, दक्षिण सुडानर तुर्कमेनिस्तान छन् । अन्य २२ देशका लागि पहेँलो सूचीमा रोखको छ ।
यो सूची केही हप्ता अघि विदेश विभागले तयार गरेको थियो । यो ह्वाइट हाउसमा पुग्दासम्म परिवर्तनहरू हुने सम्भावना रहेको बताइएको छ ।
रातो सूचीमा समावेश देशका नागरिकहरूको अमेरिका प्रवेशमा पूर्णरूपमा प्रतिबन्ध लगाइनेछ । सुन्तला सूचीमा समावेश देशका नागरिकहरूको लागि भिसा प्रक्रिया आंशिकरूपमा प्रतिबन्धित हुनेछ । यी देशका मानिसहरूले अमेरिकी भिसा प्राप्त गर्न व्यक्तिगत अन्तरवार्ता दिनुपर्नेछ । पहेँलो सूचीमा समावेश गरिएका देशहरूलाई अमेरिकाले औँल्याएका समस्याहरू समाधान गर्न ६० दिनको समय दिइनेछ । यदि यी देशहरूले ती समस्याहरू समाधान गर्न असफल भए भने तिनीहरूलाई सुन्तला वा रातो सूचीमा स्थानान्तरण गरिनेछ ।
राष्ट्रपति बनेदेखि नै ट्रम्पले अमेरिकाबाट आप्रवासीहरूलाई निष्कासन गर्न आक्रामक अडान लिइरहेका छन् । ट्रम्पले आफ्नो शपथग्रहणको दिन जनवरी २० मा एक कार्यकारी आदेश जारी गरेका थिए । जुन आदेशअन्तर्गत, सबै मन्त्रिपरिषद् सदस्यहरूलाई मार्च २१ सम्ममा ती देशहरूको सूची उपलब्ध गराउन आदेश दिइएको थियो जहाँबाट आउने मानिसहरूलाई भिसा आंशिक वा पूर्णरूपमा प्रतिबन्ध लगाउनुपर्छ ।
ट्रम्पले अमेरिकी नागरिकहरूलाई आतङ्कवादी हमला गर्ने, राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने वा घृणित विचारधारालाई समर्थन गर्न आप्रवासन कानुनको दुरुपयोग गर्ने गैरकानुनी आप्रवासीहरूबाट जोगाउनु उद्देश्यले यस्तो आदेश गरेका थिए ।