काठमाडौं, साउन १२
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता यूकेमा १ जनाको निधन भएको हो । गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा मात्र १ सय ६१ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ ।
समितिका अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १ सय ५० कुल संक्रमितमध्ये २९ हजार २ सय ४३ जना अर्थात ९३ प्रतिशतभन्दा बढी नेपालीहरु कोरोना संक्रमणमुक्त भएका छन् । अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये अधिकांश संक्रमणमुक्त भए पनि यो साता त्यहाँ संक्रमणदर केही बढेको छ । यस्तै यूएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो साता संक्रमण बढेको छ । यसैबीच स्वास्थ्य समितिले सार्वजनिक स्थलमा जाँदा, र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड सम्बन्धमा विशेष मार्गदर्शन समेत तयार पारेको छ ।
समितिले सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न समेत सुझाएको छ । यसैगरी यो सातासम्म ३४ हजार ८ सय ३० जना नेपालीको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघ, विदेशस्थित कूटनीतिक नियोग एवं नेपाल सरकारको सहकार्यमा विभिन्न २५ वटा मुलुकमा कोरोना भाइरसको संक्रमणका कारण प्रभावित नेपालीलाई स्वदेश फर्काइएको हो । यद्यपी, साउन ८ गते बिहीबारबाट नेपाल सरकारले तत्कालका लागि उद्धार उडान स्थगित गरेको छ ।
आगामी भदौ १ गतेबाट पुनः नियमित उडान हुनेछ । यस्तै मलेसिया, साउदी, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया लगायतका देशबाट यो सातासम्म २ सय १६ वटा शव नेपाल ल्याइएको छ । विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४ सय ७४ जनामध्ये १ सय ६५ जनाको परिवारको सहमतिमा गन्तव्य मुलुकमा अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै ९४ वटा शव नेपाल ल्याउन बाँकी छ ।
यसैबीच गैरआवासीय नेपाली संघ (एनआरएनए) को कोभिड–१९ उच्चस्तरीय समितिको बैठक शनिवार सम्पन्न भएको छ । अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ सुरु भएदेखि समितिले गरेका गतिविधिको समीक्षा गर्नुका साथै आगामी रणनीति तय गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पन्तले कोरोना भाइरस (कोभिड १९)को महामारीमा विश्वभर छरिएका राष्ट्रिय समन्वय परिषद् (एनसीसी)को निर्वाह गरेको भूमिका महत्वपूर्ण भएको बताए । उनले विदेशमा रहेका नेपाली समुदायले व्यहोर्नु परेको अप्ठ्यारो र संवेदनशिल यस घडीमा मल्हम लगाउने काम भइरहेको भन्दै यस कार्यलाई निरन्तरता दिन समेत आग्रह गरे । आईएलओले गरेको ५ करोड रुपैयाँको सहयोगले संघले नेपालीको मात्र नभएर अन्तर्राष्ट्रिय समुदायले समेत विश्वास गर्ने वातावरण बनेको भन्दै यसले सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गरे ।
बैठकमा महासचिव डा. हेम राज शर्माले कोरोना भाइरसको महामारीमा ५० देशमा २१ सय स्वयंसेवक खटिरहेको जानकारी दिए । उनले संघका विभिन्न देशमा स्थापना गरिएका कल सेन्टरमामार्फत ८१ हजार भन्दा बढीले परामर्श लिएको जानकारी समेत दिए ।