काठमाडौं,काठमाडौं विश्वविद्यालयको उपकुलपति पदमा प्राडा अच्युतप्रसाद वाग्ले नियुक्त भएका छन् । विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयले फरकफरक व्यक्ति नियुक्तिको लागि सिफारिस गरेका थिए । सिफारिसमा परेका तीन जनामध्येबाट प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले डा. वाग्लेलाई विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ (४) बमोजिम उपकुलपतिमा नियुक्त गरेका हुन् ।
उपकुलपति छनोटका लागि डा. सुरेशराज शर्माको संयोजकत्वमा सदस्यद्वय डा. अर्जुन कार्की र जनार्दन नेपाल रहेको समिति गठन गरिएको थियो ।काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा २०२५ सालमा जन्मिएका नवनियुक्त उपकुलपति वाग्ले काठमाडौं विश्वविद्यालयका कार्यवाहक उपकुलपति एवं रजिस्ट्रार थिए । उनले सो विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टको सहायक डीन, उक्त स्कुलको विज्ञान विभागको प्रमुख र एड्जङकट प्रोफेसर रहेर काम गरिसकेका छन् ।
इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, कानपुरबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका उनले बेलायतको ब्रिमिंघम विश्वविद्यालयबाट एमएस्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट एमए उत्तीर्ण गरेका छन् ।राष्ट्रिय अखबारका नियमित स्तम्भरकार डा. वाग्लेसँग प्रधानमन्त्रीको प्रेस सल्लाहकार र नेपाल राष्ट्र बैंकका गभर्नरको सल्लाहकार रही काम गरेको अनुुभव छ । उनले व्यवसाय, वातावरण, क्षेत्रीय अर्थतन्त्र, वित्तीय संघीयता र उद्यमशीलता आदि विषयमा अनुसन्धान गर्दै आएका छन् । उनी चार वर्षका लागि उपकुलपति नियुक्त भएका हुन् ।काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापाको कार्यकाल गत माघ ६ गते सकिएपछि सो पद रिक्त थियो ।