काठमाडौं । कांग्रेसका नेता भनिएका बीपी विचार समाजका अध्यक्ष डा. केदार नरसिंह केसीले कब्जा गरेको तारकेश्वर नगरपालिका वडा नं. ९ को सार्वजनिक जग्गा (मचागाः) नगरपालिकाले फिर्ता गराएको छ ।नगरपालिले सोमबार पनि संसद्बाहिर राष्ट्रिय स्वतन्त्र पाटीका सांसद शिशिर खनालले जग्गा कब्जा गरेको प्रमाणसहित अभिव्यक्ति दिएको भिडियो सार्वजनिक हुनासाथ नगर प्रहरीसहित वडाका जनप्रतिनिधिहरुको उपस्थितिमा डा. केसीले घर कम्पाउन्ड बनाएको सरकारी जग्गाअन्तर्गतको कि.नं. ६३ को २६३.६१ क्षेत्रफलको जग्गा संरक्षण गरेको हो ।
नगर प्रमुख कृष्णहरि महर्जनको निर्देशनपछि वडाअध्यक्ष श्यामकृष्ण महर्जन, वडासदस्य श्यामकृष्ण महर्जन र नगर प्रहरिले सार्वजनिक जग्गा संरक्षणका लागि अस्थायी तारबार गरी जग्गाको संरक्षण गरेको हो ।
शनिवार मात्र डा. केसीले जग्गा कब्जा गरेको विषय गलत रहेको भन्दै पत्रकार सम्मेलनमा नै नगर प्रमुख कृष्णहरि महर्जनले स्थानीय समाजसेवी शुसान्त न्यौपानेलगायतको व्यापक जनदबाबपछि केसीले कब्जा गरेको सरकारी जग्गा फिर्ता ल्याएर तारबार गर्न निर्देशन जारी गरेका हुन् ।
मेयर महर्जनको निर्देशनलगत्तै नगरस्तरीय बजेटबाट डा. केसीले कब्जा गरेको सो जग्गामा अस्थायी तारबार गरिएको नगरपालिकाले जनाएको छ ।कांग्रेस सांसद अर्जुननरसिंह केसीका भाई समेत रहेका डा. केदारनरसिंह केसीले नेवारी समुदायहरुले निधन भएका दुधे बालकहरु गाड्ने सरकारी जग्गा (मचागाः) कब्जा गरेर घर कम्पान्ड बनाएको र अर्को सरकारी कित्तामा समेत आफ्नो जग्गा बाटोमा गएको भन्दै सट्टापट्टा गरेको विषयमा गत सायन २७ गते आर्थिक दैनिकले समाचार प्रकाशित गरेको थियो ।
नीजि जग्गामा सडक बाटो पर्दा सार्वजनिक जग्गा सट्टापट्टा लिन पाउने कानुन नै नभएको अवस्थामा समेत केसीले आफ्नो जग्गामा बाटो परेको भन्दै त्यसको बापत सरकारी जग्गा पास गरेर आफ्नो नाममा गरेका थिए ।
केसीले आफ्नो नाममा ल्याएको कि.नं. ६२ को जग्गा २०७६ साल साउन १६ गते मालपोत कार्यालयमा तत्कालीन मालपोत प्रमुख प्रविणमान प्रधानको अध्यक्षतामा नापी प्रमुख युवराज आचार्य र मालपोत कार्यालयका कर्मचारी विजय प्रकाश गिरी सम्मिलित सट्टापट्टा समिति बनाई नेपाल सरकारबाट जग्गाधनी केदार नरसिंह केसी कायम गरिएको थियो ।
यस विषयमा आर्थिक दैनिकले साउनमा नै समाचार प्रकाशन गरेको थियो भने प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै फागुन २८ गते तारकेश्वर ६ का संघीय सांसद शिशिर खनाल र रास्वपा सांसद सुमना श्रेष्ठले तारकेश्वर–९ को लोकतान्त्रिक चोक नजिकै रहेको नेपाल सरकारको नाममा रहेको जग्गा संरक्षण गर्नुपर्ने बताएका थिए ।