अहिले जताततैबाट सेयरबजारलाई धक्का लागेको देखिन्छ । पहिलो कुरो भनेको देशको अर्थतन्त्र हो । अहिले अर्थतन्त्र कसरी चलिरहेको छ भन्ने सन्दर्भमा यहाँ लेखिरहनुपर्दैन । किनभने हामी सबैले देखि आएका छौं कि अर्थतन्त्रका अधिकांश सूचक निराशाजनक छन् । अर्थतन्त्रका बाह्य सूचकहरूमा केही सुधार आए पनि ती अस्थायी हुन् । यस्ता सूचकहरू तत्कालको लागि लाभदायक भए पनि दीर्घकालमा उपलब्धिमूलक हुन सक्दैनन् । बाह्य सूचक भनेका विप्रेषण र शोधनान्तर स्थितिलाई लिइएको हो ।
विप्रेषण सधैँ बढ्दै जान्छ भन्न सकिँदैन । अन्तर्राष्ट्रिय जगतमा कुनै उथलपुथल आउनासाथ विप्रेषणमा कमी भइहाल्छ । जसको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्ने हुन्छ । त्यस्तै गरेर अहिले शोधनान्तर अवस्था अनुकूल जस्तो देखिए पनि बजारले निर्माण गरेको अवस्था भने होइन । आयातमा कसिलो नीति सरकारले लिएको कारणले गर्दा अनुकूल हुन गएको हो । यसैलाई आधार मानेर अर्थतन्त्रमा सुधार भएको भन्न सकिँदैन । यी दुई अवयव विल्कुल तदर्थ किसिमका हुन् । कुनै न कुनै दिनमा परिवर्तन भएकै हुन्छन् ।
सेयरबजारले गतिलिनको लागि त आन्तरिक अर्थतन्त्र चलायमान हुनुपर्दछ । अहिले आन्तरिक उत्पादन निकै कमजोर देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरूमा तरलता बढ्दै गएको छ । लगानी प्रवाह हुन सकिरहेको छैन । निक्षेप बढ्दै गर्दा बैंकहरूलाई लगानीको समस्या आइरहेकोछ । निष्कृय भइरहेको तरलता लगानी गर्न नसक्दा अनावश्यकरूपमा व्याज तिर्नुपर्ने बैंकहरूको बाध्यता छ । यसरी देशको वित्तीय प्रणाली चल्न सक्दैन । यसतर्फ समयमा नै विचार पुर्याउनुपर्ने अवस्था देखिन्छ ।
सेयरबजारलाई उकास्ने भनेको आन्तरिक अर्थतन्त्र हो । अहिले आन्तरिक अर्थतन्त्रका सूचकहरू कमजोर अवस्थामा देखिन्छन् । उद्योगधन्दा कलकारखाना पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् । सञ्चालन खर्च नै उठाउन मुस्किल भएको छ । यसले गर्दा निर्यातमा वृद्धि हुन सकेको छैन । आन्तरिक आवश्यकता परिपूर्ति गर्न पनि आयातमा नै निर्भर हुनुपर्ने अवस्थाले गर्दा देशको अर्थतन्त्र आत्मनिर्भर हुन नसकी परनिर्भरता हुँदै गएको अवस्था छ ।
सरकारले पुँजीगत खर्च बढाउनै सकेको छैन । विडम्बना कस्तो छ भने वित्तीय व्यवस्थापनमा भन्दा पनि पुँजीगत बजेट कम विनियोजन गरिएको छ । यही बजेट पनि खर्च गर्न सकेको छैन भने चालुगत खर्च ज्यामितीय किसिमले वृद्धि भएको छ । जहाँ पुँजीगत खर्च ज्यादै कम छ यस अवस्थामा अर्थतन्त्रमा सुधार आउनुको सट्टा समस्या उत्सर्जन हुने गर्छन् । पुँजीगत खर्च भनेको नै अर्थतन्त्र चलायमान बनाउने मुख्य साधन हो । पुँजीगत बजेट खर्च गर्न नसकेको कारणले गर्दा मुलुकका सबै आर्थिक क्षेत्रहरूले गतिलिन नसकिरहेको अहिलेको अवस्था हो । हाम्रोजस्तो देशमा चालुगत खर्च बढ्दै जानु भनेको अर्थतन्त्र कमजोर हुँदै गएको भन्ने बुझ्नुपर्छ ।
निश्चय नै देशको अर्थतन्त्रसँग सेयरबजार जोडिएको हुन्छ । अर्थतन्त्रका सबै अवयवहरू कमजोर हुँदाहुँदै पनि सेयरबजारले भने आफ्नो गति धानीरहेको छ । वास्तवमा भन्ने हो भने आर्थिक क्षेत्र तहस नहस भइरहँदा पनि सेयरबजार भने अर्थतन्त्रजस्तो कमजोर भएको अवस्था देखिँदैन । अन्तर्राष्ट्रिय बजार नै खस्किरहेको र स्वदेशी अर्थतन्त्र कमजोर भइरहेको अवस्थामा पनि नेपालको सेयरबजार भने त्यसअनुरूप खस्किएको छैन । संक्षेपमा भन्नुपर्दा अर्थतन्त्रलाई जोगाउने र धान्नेकाम नेपालको सेयरबजारले गरिआएको छ भन्दा कुनै आपत्ति नहोला ।
देशको अर्थतन्त्र उकास्न धेरै अवयवहरूको योगदान हुनुपर्छ । मूलतः सरकारले चालुगत खर्च नियन्त्रण गर्नुपर्छ र पुँजीगत खर्चमा वृद्धि गर्नुपर्छ । अहिले यो अवस्था देखिँदैन र हामी उल्टो बाटो हिँडिरहेका छौँ । देशमा आर्थिक अनियमितता बढ्दै गएको छ । आर्थिक कारोबार नियमअनुसार हुन सकिरहेका छैनन् । परिणामस्वरूप बेरुजु बढ्दै गएको छ । भ्रष्टाचार बढ्दै गएको कुरा सर्वविदितै छ । ट्रान्स्परेन्सी इन्टरनेसनको प्रतिवेदनले नेपालको अवस्था नाजुक देखाएको छ ।
सेयरबजारलाई धक्कादिने काम अन्य कतिपय कारणहरू पनि रहेका छन् । केही समयअघि सार्वभौम साख मूल्याङ्कनबाट नेपालको अवस्था मध्यमस्तरको देखिएको छ । अन्तर्राष्ट्रिय ख्याती कमाएको फिचको मूल्याङ्कनले नेपालले डबल बि माइनस पाएको थियो । यो नतिजाले नेपालको निजी क्षेत्रलगायत सरकार पनि खुबै हौसिएको थियो । तर, यो नतिजालाई हालै ग्रे लिस्टमा नेपाल परेकोले चिन्ता गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यसअघि पनि नेपाल ग्रे लिस्टमा परिसकेको थियो । करिब छ वर्षपछि मात्र ग्रे लिस्टबाट बाहिरिएको अवस्था थियो । अहिले पुनः ग्रे लिस्टमा पर्नुभनेको नेपालको लागि राम्रो होइन । ग्रे लिस्टमा पर्नु भनेको देशको अर्थतन्त्र जोखिममा रहनु भनेको हो । यस अवस्थामा वैदेशिक अनुदान र ऋण सहायता प्राप्त गर्न कठिन हुन्छ । ग्रे लिस्टमा परेका देशहरूमा वित्तीय साधन स्रोत प्रवाहमा न्यून हुँदै गएको हुन्छ । देशको ऋण लिन सक्ने क्षमतामा प्रश्न आउन सक्छ र बाह्य लगानी भित्रिन पनि जोखिम हुन्छ भन्ने सन्देश प्रवाह भएको हुन्छ ।
देशको अर्थतन्त्रसँग सेयरबजार जोडिएको हुन्छ । अहिले सेयरबजारलाई विभिन्न किसिमबाट भाष्य निर्माण गरिए पनि सेयरबजार अर्थतन्त्र खस्किएजस्तो गरी जोखिमको अवस्था देखिँदैन । सेयरबजार भनेको एक प्रकारले वस्तु खरिद बिक्री हुनेजस्तो गरी कारोबार हुने नै हो । त्यसकारण यसको मूल्य तलमाथि हुनु पनि स्वाभाविक नै हुन्छ । बजारमा करेक्सन हुनु पनि स्वाभाविक नै हुन्छ । अहिले सेयरबजार यस्तै अवस्थामा चलिरहेको छ ।
यहाँ एउटा प्रश्न आउन सक्छ के सेयरबजार राम्रो अवस्थामा छ त ? निश्चय नै सेयरबजार हामीले चाहेजस्तो छैन । धेरै कमीकमजोरी छन् । यद्यपि अर्थतन्त्रजस्तो गरी कमजोर भने देखिँदैन । किनभने सेयरबजारका लगानीकर्ताहरू धेरै जानकार भइसकेका छन् । कुन कम्पनीको अवस्था राम्रो छ र त्यसमा लगानी गर्दा कसरी लाभ लिन सकिन्छ भन्ने कुरामा उनीहरू विश्लेषण गर्न सक्ने अवस्थामा छन् । त्यसकारण सेयरबजारले आफ्नो गति लिई रहेको हो ।
निश्चय नै सेयरबजार निकै सेन्सिटिभ क्षेत्र हो । देशमा सानोतिनो परिवर्तन हुँदासाथ त्यसको प्रत्यक्ष असर सेयरबजारमा परेको हुन्छ । अर्थमन्त्री परिवर्तन होस् वा अर्थसचिव वा नेपाल राष्ट्र बैंकका गभर्नर होस् लगानीकर्ताहरूले उनीहरूबाट कस्तो अपेक्षा गर्न सकिन्छ भन्ने कुरा विश्लेषण गरिसकेका हुन्छन् र तदनुरूप कार्य गरेका हुन्छन् । यस प्रकारको लगानीबाट जोखिमको सम्भावना ज्यादै न्यून हुन्छ । अहिले लगानीकर्ताहरू विश्लेषण गर्न सक्ने र बुद्धिमत्तापूर्वक कारोबार सञ्चालन गर्न सक्ने क्षमता भएका हुनाले नै सेयरबजार धरासायी नभएको अहिलेको अवस्था हो ।
यहाँ बुझ्नुपर्ने कुरा के छ भने सेयरबजार जहिले पनि उपेक्षित भने भइरहेको छ । प्रत्येक वर्ष अर्थमन्त्रीले पेश गर्ने बजेटमा पनि सेयरबजारलाई सुधार गर्ने सम्बन्धमा खासै सम्बोधन गरिएको पाइँदैन र सुधारका लागि कुनै ठोस कार्यक्रम उल्लेख भएका पनि हुँदैनन् । नेपाल राष्ट्र बैंकले गर्ने वार्षिक तथा अर्धवार्षिक समीक्षाका कुरा गर्नुहोस् वा समयसमयमा सरकारले दिने निर्देशनका कुरा हुन् सधैँ नै सेयरबजारलाई उपेक्षा गरिएकै अवस्था छ । लामो समयसम्म धितोपत्र बोर्डको अध्यक्ष र नेप्सेको प्रमुखको नियुक्त नगरिनुले पनि कतिसम्म सेयरबजार उपेक्षित भएको रहेछ भन्ने कुरा स्वतः अनुमान लगाउन सकिन्छ । यसरी नेपालको सेयरबजारलाई सुधार गरिनुभन्दा पनि धक्का दिने काम मात्र भएको देखिन्छ र तैपनि सेयरबजारले आफ्नो छवि कायम गरेर देशको अर्थतन्त्रमा योगदान पु¥याएको छ । देशको अर्थतन्त्र खस्किएजस्तो गरी सेयरबजारमा जोखिम बढेको भए देशको आर्थिक अवस्था कति दयनीय हुन्थ्यो होला हामी आफैँ अनुमान गर्न सक्छौँ । यस्तो जटिल अवस्थामा पनि सेयरबजारलाई जोगाइराख्ने अरु कोही नभई विवेकशील लगानीकर्ता नै हुन् । धन्यवाद छ, उनीहरूलाई ।