काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाद्वारा आयोजित “विद्यार्थीहरुसंग वित्तीय साक्षरता तथा वातावरण संरक्षण” कार्यक्रम सम्पन्न भएको छ । संस्थाले काठमाडौंको शंखरापुर नगरपालिका साँखु स्थित भगवती माध्यामिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा दुई सय ४० भन्दा बढी विद्यार्थीहरुको सहभागिता थियो । यूवा तथा विद्यार्थीहरुमा वित्तीय सचेतना जगाउने, वातावरण सरक्षण गर्ने र ३ शुन्य (शुन्य खुद कार्वन उत्सर्जन, शुन्य गरिवी र शुन्य बेरोजगारी) अवधारणाको विकास गर्ने उद्देश्यले शाखा कार्यालय साँखु, काठमाडौंले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्यक्रम गरेको हो ।
कार्यक्रममा संस्थाका नायब महाप्रवन्धक गोविन्द चापागाँईले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेको र प्रवन्धक सुमन श्रेष्ठले श्रोत व्यक्तिको रुपमा वित्तीय साक्षरता कार्यक्रम र ३ शुन्य कार्यक्रमको प्रस्तुतीकरण गरेका थिए । उक्त अभिमूखिकरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अनुप श्रेष्ठ, उप–प्रधानाध्यापक संजीव श्रेष्ठ लगायत शिक्षकहरु, शाखा कार्यालयका कर्मचारीहरु लगायत अभिभावकहरुको समेत सहभागीता थियो ।
स्वावलम्वन लघुवित्त वित्तीय संस्था लि. कम्पनी ऐन बमोजिम नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न ईजाजत पत्र प्राप्त “घ” वर्गको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । संस्थाले देशभर ६१ जिल्लामा रहेका एक सय ४५ वटा शाखा/उपशाखा र नौं वटा ईलाका कार्यालयहरु मार्फत करीव दुई लाख ६३ हजार भन्दा बढी विपन्न महिला सदस्यहरुलाई समूहमा आवद्ध गराई बचत, कर्जा, विप्रेषण, लघुबीमा लगायतका अत्यावश्यक बैकिङ्ग/वित्तीय सेवा उपलब्ध गराउदै आएको छ ।