काठमाडौं । एनसी एग्रो टेक र ग्लोबल आईएमई क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ । च्याउ उत्पादन तथा प्रशोधनमा सक्रिय एनसी एग्रो टेक इन्डस्ट्रिजले एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण सेयर निष्काशन गर्नको लागि ग्लोबल आर्ईएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सम्झौतामा एनसी एग्रो टेकका सञ्चालक दिपकप्रसाद न्यौपाने र ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईंटेलले हस्ताक्षर गरेका छन् । काठमाडौंको टोखामा केन्द्रीय कार्यालय रहेको कम्पनीले नवलपरासी (गैंडाकोट–१४) मा कारखाना सञ्चालन गरी विभिन्न प्रकारका च्याउ उत्पादन तथा प्रशोधन गर्दै आइरहेको छ । कम्पनीले राजा च्याउ उत्पादन गर्दै बजार विस्तार गरिरहेको छ भने औषधिजन्य च्याउ तथा च्याउका बिउबिजन उत्पादनमा पनि सक्रिय रहेको छ ।
यसका साथै बाँसबाट टुथपिक, अगरबत्ती सिन्का, मुडाको सिन्कालगायतका सामग्री उत्पादन गर्दै आएको कम्पनीले च्याउ उत्पादनपछि बाँकी रहेका फोहोरलाई इको–फ्रेन्डली कोइलामा रूपान्तरण गर्ने प्रविधि अपनाएको छ । नेपाललाई आत्मनिर्भर बनाउने लक्ष्यसहित कम्पनीले नयाँ प्रविधि र कृषि स्रोत साधनको प्रयोग बढाउँदै लगेको जानकारी दिएको छ ।