काठमाडौं । बालिकालाई वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित पञ्चेश्वर महाकाली गेस्ट हाउस एन्ड रेस्टुरेन्टका सञ्चालक गोरखा पालुङटार नगरपालिका– ६ घर भएका ४५ वर्षीय शम्भुलाल मल्ललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त गेस्ट हाउस एन्ड रेष्टुरेन्टमा शम्भु लालले आर्थिक लाभ लिई बालिकाहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन ब्युरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त गेस्ट हाउसबाट दुई जना बालिकाहरूको उद्दार गरी सुरक्षित आवासको लागि सेल्टरहोममा पठाएको छ ।
उनीउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।