चौतारा । इलाका प्रहरी कार्यालय बाह्रबिसेले मङ्गलवार राती भाटभटेनी सुपर मार्केटको सामान ल्याइएको डिब्बामा भन्सार जाँच पास नगराई अवैध रूपमा ७ सय ४० थान विद्युतीय सिगरेट बरामद गरेको छ ।
प्रहरी चेकपोस्ट खुर्सानीवारिमा मङ्गलवार राती खटिएको टोलीले तातोपानी भन्सारबाट भाटभटेनीको सामान बोकी काठमाडौँतर्फ जाँदै गरेको सवारी साधनको चेक जाँच गर्ने क्रममा मालवाहक डिब्बामा विद्युतीय सिगरेट ‘भेप’ बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुमेह पाण्डेले ना.६ ख ५४९६ नंम्वरको डिब्बा गाडीबाट बरामद भएको ९३ डब्बामा ७ सय ४० वटा विद्युतीय सिगरेट फेला परेको जानकारी दिए । बरामद भएको सामाग्रीको अन्दाजी मूल्य २२ लाख २० हजार रहेको छ ।
प्रहरी निरीक्षक पाण्डेले चालक भोटेकोसी गाउँपालिका वडा नंम्वर २ का प्रवीण खत्री र बरामद भएका सामाग्री सहित डिब्बा गाडी नियन्त्रणमा लिइ राजस्व कार्यालय हरिहर भवनमा पठाउने तयारी भइरहेको जानकारी दिए ।