सिन्धुपाल्चोक । नेपाल सरकारले विभिन्न सरकारी तथा सार्वजनिक सेवा प्राप्त गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि राष्ट्रिय परिचयपत्र बनाउनका लागि जिल्ला प्रशासन कार्यालय चौतारा सदरमुकाम पुग्न सिन्धुपाल्चोकका गाउँ गाउँका ज्येष्ठ नागरिकहरूले सास्ती पाएका छन् ।
जिल्लाको हिमाली क्षेत्रका ज्येष्ठ नागरिकहरूले राष्ट्रिय परिचयपत्र बनाउन तीन दिन समय र हजारौँ रकम खर्च गर्नु पर्ने बाध्यता रहेको छ । ज्येष्ठ नागरिकलाई भोटेकोसी गाउँपालिका–१ लिस्तिकोटको माथिल्लो भेगबाट चौतारा पुग्न दिनभरी लाग्छ । त्यस दिन जेष्ठ नागरिकहरुले चौतारामा नै बास बस्नु पर्ने हुन्छ । भोलिपल्ट दिनभर लाइनमा बसेर राष्ट्रिय परिचयपत्रको आवेदन दिएर फोटो खिचाउने, बायोमेट्रिक दिनु पर्छ । त्यस दिन पनि उनीहरु सदरमुकाममै बास बसी बल्ल पर्सिपल्ट मात्रै आफ्ना घर फर्कनु पर्ने अवस्था छ ।
समय, पैसा र सडक बाटोको जटिलताले ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन सदरमुकाम पुग्न र फर्किन अति नै कष्टकर भएको छ । ज्येष्ठ नागरिकहरू पैदलयात्रा गर्न सक्दैनन् । बलेरो प्रयोग गरेमा हजारौँ खर्च हुने गर्छ । राष्ट्रिय परिचयपत्र बनाउनका लागि ज्येष्ठ नागरिकलाई सास्ती भई रहदाँ जिल्ला प्रशासन कार्यालयले स्थानीय तहमा शिविर लैजान आवश्यक रहेको देखिन्छ । सिन्धुपाल्चोकमा करिब १५ हजार ज्येष्ठ नागरिक रहेको अनुमान छ ।