काठमाडौ । उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्धारित समयमै काम सक्नेगरी त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माणकार्य भइरहेको बताएका छन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको बिहीबार निरिक्षण गर्दै उपप्रधान सिंहले वैशाख २४ गतेभित्रै मैदानमा १० हजार क्षमताको प्यारापिट निर्माणसम्पन्न गर्ने लक्ष्यअनुसार काम भइरहेको जानकारी दिए । सहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट सो मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप प्यारापिट निर्माण कार्य र फ्लडलाइट जडानकार्य भइरहेको छ । सो कार्यका लागि २०८१ फागुनमा सम्झौता भएको थियो ।
उपप्रधानमन्त्री सिंहले प्यारापिट निर्माणको काम छिटो सक्न आठ घन्टाको दरले तीनै सिफ्टमा काम भइरहेको बताए । निर्माणकार्य समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहले निर्माण कार्यमा विशेष चासो समेत दिँदै आएका छन् । ‘क्रिकेट मैदानमा प्यारापिट निर्माणलगायत काममा प्रधानमन्त्रीको पनि चासो छ, समयमै काम सक्नका लागि आठ घन्टाका दरले तीन सिफ्टमा काम पनि भइरहेको छ’, उपप्रधानमन्त्री सिंहले भने । मैदानमा अहिले प्यारापिट निर्माणको काम भइरहेको छ । गत फागुन २० देखि प्यारापिट निर्माणको काम सुरु गरिएको हो । प्यारापिट निर्माणका लागि ४३ करोड ७७ लाख रुपैयाँको लागतमा काठमाडौंको टङालमा रहेको विकेओआई–केसिडीसी–विजी जेभीले पाएको छ । त्यस्तै फ्लडलाइट जडानको ठेक्का ललितपुरको गुसिंगलस्थित विशाण–ईश्वरी जोइन्ट भेन्चरले लिएको छ । फ्लडलाइटको जडानको काम भने सुरु हुन बाँकी छ ।