दोलखा , दोलखा- जिल्लाको विगु गाउँपालिका(१ लामाबगरमा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना (अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडमा) कार्यरत दोलखा जिल्लाबासी स्थानिय कर्मचारीहरु आन्दोलित बनेका छन् ।हाइड्रोपावरले दिदैआएको सेवा सुविधामा विभेद गरेको भन्दै हाइड्रोपावरमा कार्यरत दोलखा जिल्लाका एक सय बढी कर्मचारीले सामुहिक आन्दोलन सुरु गरेका हुन्।उनीहरुले यहीँ चैत १० गतेदेखि धर्ना दिने कम्पनीका दोलखा जिल्लाबासी करार कर्मचारी संघर्ष समितिले बताएको छ।
कम्पनी व्यवस्थापनले विगत २ वर्षदेखि उपलब्ध गराउँदै आएको सेवा सुविधामा विभेद गरिएको भन्दै गत असोजमा पनि धर्ना दिएको थियो। तर, असोज ६ गते कम्पनी व्यवस्थापन र दोलखा जिल्लाबासी कर्मचारीहरुद्वार गठित संघर्ष समितिका प्रतिनिधिहरुबीच माघ मसान्तसम्ममा सबै कर्मचारीहरुको सेवा सुविधामा समानता कायम गर्ने द्विपक्षीय सहमति पछि धर्ना कार्यक्रम रोकिएको थियो।सहमति कार्यान्वयनका लागि संघर्ष समितिले माघ १ गते संयुक्त स्मरण पत्र र पछिल्लो पटक फागुन २८ गते ताकेता पत्र पेश गरेको थियो।पटकपटक हाइड्रोपावरलाई जानकारी गराउदा समेत कम्पनीले कुनै सुनुवाइ नगरेको भन्दै समितिले एक प्रेस विज्ञप्ति जारी गर्दैआन्दोलन थालेको हो।
कम्पनीको व्यवस्थापन समितिले मुख्य प्रभावित जिल्लाका करार कर्मचारीलाई सेवा सुविधा र ज्यालामा समेत विभेद गर्ने गरेको पीडित कर्मचारीहरुको गुनासो रहेकोे छ।आफुहरुसँग गरिएको सेवा सुविधा सम्झौतालाई वेवास्ता गरी सहमति कार्यान्वयन नगरेकोले आगामी आइतबारदेखि पुनः धर्ना तथा विरोध सभा कार्यक्रम अघि सारेको हो।यससँगै समितिले कम्पनीको सवारी साधन सञ्चालनमा रोक लगाउने, गोंगरस्थित कार्यालयको कामकाज ठप्प पर्ने पनि विज्ञप्ति उल्लेख गरिएको छ।
समितिले गोंगरस्थित पावर प्लान्ट सञ्चालनमा भने कुनै अवरोध नगर्ने समेत जनाएको छ।माथिल्लो तामाकोशी आयोजनाको प्रवद्र्धक अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले स्थानीय कर्मचारीलाई ५० प्रतिशत र बाहिरी जिल्लाका कर्मचारीलाई ७५ प्रतिशत अतिरिक्त भत्ता उपलब्ध गराउँदै आएको छ । सोही कारण उनीहरूले बिहीबार एक विज्ञप्ति जारी गर्दै आइतबारसम्म आफूहरूको माग सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।यता आयोजनाका प्रमुख मोहन गौतमले भने दोलखा जिल्लावासी कर्मचारीलाई आन्दोलनमा नजान अनुरोध गरेका छन्।पुरानो सम्झौता लाई हेरेर वोर्ड बैठकमा लैजाने र छलफल र वार्ताको माध्यम बाट देखिएका समस्या समाधान गर्ने प्रयास गरिने बताए।आयोजनामा कार्यरत झण्डै २०० जना करार कर्मचारीमध्ये दोलखाका १०१ जना कर्मचारीलाई उपलब्ध गराउने अतिरिक्त सुविधामा विभेद गरिएको भन्दै दोलखाबासी कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।