काठमाडौं । क्यानडास्थित शेरिडन कलेजले नेपालमा औद्योगिक सीप र दक्षतामूलक अध्ययनकेन्द्रित कार्यशाला आयोजना गरेको छ । सो कलेजले हालै काठमाडौं र पोखरामा सो कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा शेरिडन कलेजका प्रतिनिधिहरूले कलेजले सञ्चालन गरेका उद्योगसँग सम्बन्धित कार्यक्रमहरू, अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि उपलब्ध शैक्षिक अवसर, व्यावहारिक सिकाइ, अनुसन्धानका अवसरहरू तथा नेपालसँगको शैक्षिक साझेदारीलाई कसरी सशक्त बनाइँदैछ भन्ने विषयमा जानकारी गराएका थिए । साथै विद्यार्थीहरूले प्रत्यक्षरूपमा भर्ना प्रक्रिया, छात्रवृत्ति, र क्यानडामा स्नातकोत्तर रोजगार अवसरहरूबारे जानकारी प्राप्त गरेका थिए ।
कार्यक्रममा शेरिडन कलेजका प्रेसिडेन्ट डा. जेनेट मोरिसन, ग्लोबल इन्गेजमेन्टका एसोसिएट उपाध्यक्ष जेसन रोल्स, दक्षिण एसियाका लागि क्षेत्रीय प्रबन्धक कोरी स्यामुएल्स, नेपाल र बंगलादेशका लागि वरिष्ठ भर्ती सल्लाहकार नितेशजंग कार्कीलगायतले सहभागिता जनाएका थिए । यो कार्यक्रमले शेरिडन कलेज र नेपाली विद्यार्थी समुदायबीचको सम्बन्ध अझ मजबुत बनाउने कार्य गरेको जनाइएको छ ।