सुन्दरहरैँचा । कोशी प्रदेशमा ८० हजारभन्दा बढी विद्यार्थीले परीक्षा दिइरहेका छन् । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका आठ जना जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिइरहेका छन् । कोशी प्रदेशमै यो विद्यालयबाट सबैभन्दा बढी विद्यार्थीले एसइई परीक्षा दिइरहेका छन् जसमध्ये आठजना जुम्ल्याहा विद्यार्थीले एकैपटक परीक्षा दिइरहेको सहायक प्रधानाध्यापक राजेन्द्र गिरीले जानकारी दिए ।
२०२९ सालमा स्थापना भएको यस विद्यालयमा २०३९ सालबाट ‘एसएलसी’ परीक्षा दिन सुरु गरिएको थियो । विद्यालयबाट चारवटा परीक्षा केन्द्रमार्फत ६२६ विद्यार्थी परीक्षामा सहभागी छन्, जुन सङ्ख्या एकै प्रदेशमै बढी रहेको विद्यालयको दाबी छ । विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले प्रदेशकै नमूना विद्यालयअन्तर्गत पर्ने यस विद्यालयमा ं२ सहित हाल चार हजार ५०० विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए ।