काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले खराब कर्जाको धितो लिलाम हुन नसक्दा निकै अप्ठ्यारो परिस्थितिको सामना गरेका छन् । गैरबैंकिङ सम्पत्ति लिलाम बिक्रीको लागि पटक–पटक बोलकबोल आह्वान गर्दा पनि त्यस्तो सम्पत्ति बिक्री हुन नसकेपछि बैंकिङ क्षेत्रले अप्ठ्यारोको परिस्थितिको सामना गर्नुपरेको हो । पछिल्लो समय खराब कर्जा बढ्दा नाफामा सङ्कुचन आएको छ । यस्तै, लिलाम भएको धितो बिक्री नहुँदा गैरबैंकिङ सम्पत्ति पनि बढेर गएको छ । यसले बैंक तथा वित्तीय संस्थाको वासलातमा नकारात्मक असर परेको छ ।
राष्ट्र« बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो सात महिनाको अवधिमा सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्ति बढेर ४१ अर्ब ७४ करोड १० लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकिङ क्षेत्रमा औसत खराब कर्जाको अनुपात पनि बढेर चार दशमलव ९२ प्रतिशत पुगेको छ । बैंकहरूको खराब कर्जा बढेसँगै गैरबैंकिङ सम्पत्ति पनि उच्चरूपमा बढेको देखिन्छ ।
२०८१ माघ मसान्तसम्म बैंकहरूको गैरबैंकिङ सम्पत्ति गत वर्षको सोही अवधिको तुलनामा १७ अर्ब ९५ करोड ८० लाख रुपैयाँ बढी हो । गत वर्ष माघमा बैंकिङ क्षेत्रको औसत खराब कर्जा तीन दशमलव ७३ प्रतिशतमा थियो भने गैरबैंकिङ सम्पत्ति २३ अर्ब ७८ करोड ३० लाख रुपैयाँ थियो । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार बैंकिङ क्षेत्रमा औसतमा एक दशमलव १९ प्रतिशतले खराब कर्जा बढ्दा गैरबैंकिङ सम्पत्ति झण्डै १८ अर्ब रुपैयाँले बढेको छ । गत माघ मसान्तमा वाणिज्य बैंकहरूमा औसत चार दशमलव ७३ प्रतिशत कर्जा निष्क्रिय हुँदा ३५ अर्ब ८२ करोड ५० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । यो सम्पत्ति गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ अर्ब ९१ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूमा औसतमा तीन दशमलव ६३ प्रतिशत कर्जा खराब हुँदा १९ अर्ब ९१ करोड ५० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको थियो ।
विकास बैंकहरूको पनि गत माघसम्म औसत पाँच दशमलव ११ प्रतिशत कर्जा खराब हुँदा तीन अर्ब ५८ करोड रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति छ । जुन एक वर्षअघिको तुलनामा एक अर्ब छ करोड १० लाख रुपैयाँले बढी हो । गत वर्ष माघमा विकास बैंकहरूको औसत तीन दशमलव ६१ प्रतिशत खराब कर्जा थियो भने गैरबैंकिङ सम्पत्ति दुई अर्ब ५१ करोड ९० रुपैयाँ थियो ।
फाइनान्स कम्पनीहरूमा खराब कर्जा गत माघमा १२ दशमलव ८५ प्रतिशत थियो भने गैरबैंकिङ सम्पत्ति दुई अर्ब ३३ करोड ५० लाख रुपैयाँ छ । जुन एक वर्षअघिको तुलनामा ९८ करोड ६० लाख रुपैयाँले बढी हो । गत वर्ष माघमा खराब कर्जा औसत नौ दशमलव १८ प्रतिशत र गैरबैंकिङ सम्पत्ति एक अर्ब ३४ करोड ९० लाख रुपैयाँ थियो ।