काठमाडौं । नेपालको १८ लाख हेक्टर जमिनमा भाङ (हेम्प) खेती सम्भव हुने एक अध्ययनले देखाएको छ । नेपालमा गाँजा खेतीलाई वैधानिक गर्नुपर्नेमा माग उठिरहेको बेला सागर काफ्लेको नेतृत्वमा प्रख्यात ‘नवीकरणीय र दिगो ऊर्जा समीक्षा’ जर्नलमा प्रकाशित हालैको एक अध्ययनले देशको झन्डै १२ प्रतिशत भू–भागमा भाङ खेतीको सम्भाव्यता पहिचान गरेको उल्लेख छ ।
नेपालले गाँजासँगै भाङको खेती र व्यापारमा पनि एकमुस्ट रुपमा प्रतिबन्ध लगाएको छ । तर सो अध्ययनमा नेपालको कृषि प्रणालीमा आमूल परिवर्तन ल्याउन सक्ने वैकल्पिक बालीका रूपमा भाङलाई पहिचान गरिएको छ । यसको औद्योगिकीरणबाट उच्च आयआर्जन गर्न सकिने देखाउँदै सो अध्ययनले यसलाई नेपालको वैकल्पिक बालीको रूपमा प्रस्ताव गरेको हो । गाँजा तथा भाङ दुवै एउटै प्रजातिका भए पनि, भाङमा टेट्राहाइड्रोकानाबिनोल शून्य दशमलव तीन प्रतिशत वा कम हुने भएकाले यसलाई गाँजाभन्दा फरक मानिन्छ । पूर्वाञ्चल क्याम्पस, इञ्जिनियरिङ अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा हाल संयुक्त राज्य अमेरिकाको अबर्न विश्वविद्यालयमा विद्यावारिधि गर्दै गरेका काफ्लेले नेपालको देशको झन्डै १२ प्रतिशत भू–भागमा भाङ खेतीको सम्भाव्यता पहिचान गरेको भए पनि करिब २ दशमलव ८ लाख हेक्टर जमिनमा भाङ खेती गर्न सकिने बताए ।
भूगोल र अन्य मापदण्डहरूलाई समेतलाई विचार गर्दा भाङ खेतीको लागि करिब २ दशमलव ८ लाख हेक्टर जमिन पहिचान गरेको उनले जानकारी दिए । अध्ययनले भाङको बहुउपयोगी गुण, उत्पादन क्षमता, तथा ऊर्जामा योगदानजस्ता पक्षहरूलाई उजागर गरेको छ ।
अध्ययनअनुसार प्रतिहेक्टर भाङ खेतीको उत्पादन लागत तीन हजार एक सय ७७ अमेरिकी डलर हुने अनुमान गरिएको छ भने प्रतिहेक्टर आम्दानी १० हजार चार सय ५० डलरसम्म पुग्ने देखिएको छ । यस आधारमा सात हजार ७३ डलरको नाफा हुने आकलन गरिएको छ ।
टेक्सास ए एन्ड एम विश्वविद्यालयमा अध्ययनरत अनुसन्धानकर्ता पुरुषोत्तम ज्ञवालीका अनुसार नेपालमा भाङ खेती अन्य देशको तुलनामा सस्तो पर्ने भएकाले यसले लाभदायक वैकल्पिक बालीको रूपमा काम गर्न सक्छ । सो खेतीका लागि अध्ययनले सबैभन्दा धेरै उपयुक्त जमिन पहाडि क्षेत्रमा देखाएको छ । पहाडमा ७१ प्रतिशत, तराईमा २८ प्रतिशत र हिमाली क्षेत्रमा केवल एक प्रतिशत जमिन भ्याङ खेती गर्न सकिने जनाइएको छ । यस्तै प्रदेशगतरूपमा, सबैभन्दा बढी सम्भावना कोशीमा फेला परेको छ भने दोस्रोमा लुम्बिनीमा र सबैभन्दा कम सुदूरपश्चिममा रहेको उल्लेख छ । माटो, भौगोलिक उचाइ, जलवायु र सडक सञ्जाललाई ध्यानमा राख्दै, भाङ उत्पादनका लागि उच्च, मध्यम र कम सम्भाव्य क्षेत्रहरू वर्गीकृत गरिएको हो ।
अध्ययनले सम्भाव्य क्षेत्रहरूबाट कुल उत्पादन बायोमास क्षमता ८७ लाख टन, फाइबर क्षमता सात लाख टन र बीउ क्षमता पाँच लाख टन पहिचान गरेको छ । अर्ब विश्वविद्यालयका प्राडा सुशील अधिकारीका अनुसार, भाङको बायोमासबाट उत्पादित ४१ लाख टन ठोस इन्धन र १५ करोड लिटर जैविक डिजेलले नेपालमा वार्षिक खपत हुने ऊर्जा र डिजेलको क्रमशः १० प्रतिशत र ८ प्रतिशत पूर्ति गर्न सक्छ ।