काठमाडौं । एनसेल फाउन्डेसनले लुम्बिनी प्रदेशका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरुमा हानिएका प्रत्येक चौकाबापत विद्यार्थीहरुलाई चारवटा शैक्षिक सामग्री वितरण गर्ने घोषणाअनुसार शैक्षिक सामग्रीहरुको वितरण गरेको हो ।
उक्त कार्यक्रमअन्तर्गत लुम्बिनी प्रदेशका तीन विद्यालयहरुमा चार सय ४६ वटा शैक्षिक सामग्रीहरु वितरण गरिएको फाउन्डेसनले जनाएको छ । क्रिकेटदेखि कक्षाकोठासम्मको यो पहलमा क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै एनसेलले गत मंसिरमा एनपीएलका खेलहरूमा हानिने प्रत्येक चौकाबापत चारवटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको थियो । यसले विद्यार्थीहरूमा अर्थपूर्ण प्रभाव पार्दै शिक्षामा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने उद्देश्य राखेको छ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र एनसेलकी मार्केटिङ, कम्युनिकेशन एन्ड सस्टेनिबिलिटी अन्तरिम डाइरेक्टर विषाखा लक्ष्मी खड्काले कपिलवस्तु नगरपालिका, वडा १० को श्री राष्ट्रिय माध्यामिक विद्यालय र मदरसा वहरुल उलूमका दुई सय ६० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका थिए । त्यसैगरी एनसेलका चीफ अफ स्टाफ स्टिवन रोड्रिगेजले राप्ति सोनारी गाँउपालिका, वडा ४ मा रहेको श्री बालकशान्ति प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई एक सय ८६ शैक्षिक सामग्री वितरण गरेका छन् । विद्यार्थीहरुले प्राप्त गरेका प्रत्येक शैक्षिक सामग्रीमा शैक्षिक सामग्रीहरु जस्तैः स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश छन् ।
यस कार्यक्रमअन्तर्गत एनसेल फाउन्डेसनले एनपीएलमा हानिएका पाँच सय ५३ चौकाबापत कुल दुई हजार छ सय १२ वटा शैक्षिक सामग्री विद्यार्थीहरुलाई वितरण गर्नेछ ।