काठमाडौं । राजधानीको टोखामा रहेको इशान बाल तथा महिला अस्पतालले ‘मल्टी डिसिपिनरी क्लिनिक’ सञ्चालन गरेको छ । अस्पतालले मानसिक तथा शारीरिक अपाङ्गता भएका बालाबालिकाहरुको उपचार गर्ने उद्देश्यले सो क्लिनिक सञ्चालनमा ल्याएको हो ।
क्लिनिकको एक कार्यक्रमका बीच शनिबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले उद्घाटन गरेका छन् । कार्यक्रममा मन्त्री सुडीले पछिल्ला वर्षहरुमा फरक खालका बिरामीहरुको संख्या बढिरहेको बताए । सरकारी तबरमा त्यस्ता रोगको राम्रो उपचार हुन नसकिरहेको अवस्थामा अस्पतालको नयाँ सुविधा तारिफयोग्य भएको उनले बताए । कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक प्राडा रामानन्द चौधरीले इशान हस्पिटलले जन्मेदेखि १८ वर्षसम्म उमेरका बालबालिकाहरुको सबै खालको रोगको उपचार सेवा सुरु गरेको बताए । त्यसैगरी महिलाहरुको प्रसूतिलगायत सबै खालका रोगहरुको उपचार हुने जानकारी दिए ।
कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी, निजी अस्पताल संघका अध्यक्ष डा. पदमबहादुर खड्कालगायत विभिन्न क्षेत्रका व्यक्तिको उपस्थिति थियो । ०५२ सालमा नेपालकै पहिलो गैरसरकारी बाल अस्पतालबाट सेवा सुरु गरेको सो अस्पताल हाल टोखा ५ नं वडामा आधुनिक एवं वातावरणमैत्री भवनमा सरेको छ । यस्तै अस्पतालमा २४ घन्टा नै पेडियाट्रिक विशेषज्ञ रजिष्टारहरुबाट नवजात तथा बालरोग, बाल सर्जरी, महिला तथा प्रसूति, हाडजोर्नी सम्बन्धमा आकस्मिक सेवाहरु, नवजात तथा बाल सघन उपचार सेवा, एम्बुलेन्स, प्याथोलोजी, अल्ट्रासाउन्ड, एक्सरे, फार्मेसी, क्यािन्टन सेवा समेत रहेको छ । अन्तर्राष्ट्रियस्तरमा सेवा दिने प्रयास गरेको अस्पतालले विभिन्न समयमा विभिन्न नवजात बाल शल्यरोग तथा बाल युरोलोजीसम्बन्धी जटिलभन्दा जटिल शल्यक्रियाहरु भइरहेको पनि जनाएको छ ।