काठमाडौं । प्रोटोनले विद्युतीय सवारीसाधन, प्रोटोन ई.मास७ लाई नेपालमा आधिकारिकरूपमा सार्वजनिक गरेको छ । कम्पनीले प्रोटोन ई.मास७ लाई देशभरको यात्रा गराएपश्चात् शुक्रबार एक विशेष कार्यक्रमको आयोजना गरी औपचारिकरुपमा सार्वजानिक गरेको हो ।
कम्पनीका अनुसार प्रोटोन ई.मास७ नेपालमा वातावरणमैत्री यातायात समाधानहरूको बढ्दो माग पूरा गर्न तयार छ । दुई भेरियन्ट प्राइम र प्रिमियममा सार्वजनिक गरिएको प्रोटोन ई.मास७ को सुरुवाती मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यो सवारीसाधन आकर्षक रङ्गहरु प्लाटिनम सिल्भर, टक्र्वोइज ग्रीन, स्लेट ग्रे, क्वाट्र्ज रोज र लिथियम ह्वाइटमा उपलब्ध रहेको छ ।
जगदम्बा मोटर्स प्रालिका कार्यकारी निर्देशक अखिल गुप्ताले नेपालमा विद्युतीय सवारीसाधनको पूर्वाधार र सरकारबाट प्राप्त प्रोत्साहनहरू विस्तार भइरहेका सन्दर्भमा, प्रोटोनले नेपालको हरित क्रान्तिमा आफ्नो योगदान दिन प्रतिबद्ध रहेको बताए । जगदम्बा मोटर्सले आगामी आर्थिक वर्षमा नेपालभरि आफ्नो डिलरशिप संख्या विस्तार गर्ने र बलियो सेवा केन्द्र नेटवर्क स्थापना गर्ने योजना बनाएको उनको भनाइ छ । साथै, प्रोटोनले नेपालमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन पूर्वाधार विकासमा पनि लगानी गर्नेछ ।
कम्पनीका अनुसार प्रोटोन ई.मास७ ग्लोबल मोड्युलर आर्किटेक्चर प्लेटफर्ममा निर्माण गरिएको हो । यसमा १२–इन–१ इन्टेलिजेन्ट इलेक्ट्रिक प्रोपल्सन सिस्टम, नवीनतम सेल–टु–बडी–सिटिबी ब्याट्री संरचना र नयाँ पुस्ताको एईजिस शर्ट–ब्लेड ब्याट्री रहेको छ । यस्तै यसमा लेभल २ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम, ३६०–डिग्री भ्यू क्यामेरा, ५–स्टार एसियन एनक्याप सुरक्षा रेटिङ, १६० केडब्लू पावर र ३२० एनएम टर्कलगायतका सुरक्षा सुविद्याहरु रहेका छन् । प्रोटोन ई.मास७ प्राइम भेरियन्टमा ४९ दशमलब ५२ केडब्लूएच ब्याट्री, ३४५ किलोमिटर डब्लूएलटिपी रेन्ज र प्रिमियम भेरियन्टमा ६० दशमलब २२ केडब्लूएच ब्याट्री, ४१० किलोमिटर डब्लूएलटीपी रेन्ज रहेको जनाइएको छ ।
डिसी फास्ट चार्जिङ सपोर्ट गर्ने यसले २० मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज हुनेट । साथै १० मिनेटको चार्जिङले १३५ किलोमिटरको रेन्ज प्रदान गर्ने जनाइएको छ । प्रोटोन ई.मास७ मलेसियाको राष्ट्रिय विद्युतीय सवारी र नयाँ ऊर्जा ब्रान्ड हो, जसलाई प्रो–नेटारा वितरण गरिन्छ । प्रोटोन ई.मास७ पहिलो पटक २०२४ को जुन १२ मा सार्वजनिक गरिएको थियो ।