दोलखा । जिल्लाको विगु गाउँपालिका–१ लामाबगरमा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना (अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडमा) कार्यरत दोलखा जिल्लाबासी कर्मचारीहरु आन्दोलित बनेका छन् ।
हाइड्रोपावरले दिने गरेको सेवा सुविधामा विभेद भएको भन्दै कर्मचारीहरुले सामुहिक आन्दोलन सुरु गरेका हुन् । उनीहरुले आइतबार लामावगरस्थित कार्यालयमा धर्ना दिएका थिए । दोलखा जिल्लाबासी करार कर्मचारी संघर्ष समितिले समानता सुविधा कायम गर्नु माग राख्दै आन्दोलन शूरु गरेको हो । कम्पनी व्यवस्थापनले विगत २ वर्षदेखि नै सेवा सुविधामा विभेद गरेको समितिले जनाएको छ । गत असोजमा पनि यहाँका कर्मचारीहरुले आन्दोलन गरेका थिए । तर, असोज ६ गते कम्पनी व्यवस्थापन र संघर्ष समितिका प्रतिनिधिहरुबीच माघ मसान्तसम्ममा सबै कर्मचारीहरुको सेवा सुविधामा समानता कायम गर्ने द्विपक्षीय सहमति भएपछि आन्दोलन रोकिएको थियो ।
सो सहमति कार्यान्वयनका लागि व्यवस्थापनले चासो नदेखाएपति संघर्ष समितिले माघ १ गते संयुक्त स्मरण पत्र र पछिल्लो पटक फागुन २८ गते ताकेता पत्र पेश गरेको थियो । पटकपटक हाइड्रोपावरलाई जानकारी गराउदा समेत कम्पनीले कुनै पनि मागको सुनुवाइ नगरेको समितिले जनाएको छ । सहमती अनुसार आफुहरुको माग पुरा नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको समितिले जनाएको छ । कम्पनीको व्यवस्थापन समितिले मुख्य प्रभावित जिल्लाका करार कर्मचारीलाई सेवा सुविधा र ज्यालामा समेत विभेद गर्ने गरेको कर्मचारीहरुको गुनासो रहेकोे छ ।
समितिले मंगलबारसम्म सहमति कार्यान्वयन नभएमा प्लान अपरेशनमा भईपरी आउने आपतकालीन अवस्थाबाहेक कम्पनीको सबै सवारी साधन सञ्चालनमा रोक लगाउने बताएको छ । साथै गोंगरस्थित कार्यालयको कामकाज पनि ठप्प गर्ने समितिले जनाएको छ । माथिल्लो तामाकोशी आयोजनाको प्रवद्र्धक अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले स्थानीय कर्मचारीलाई ५० प्रतिशत र बाहिरी जिल्लाका कर्मचारीलाई ७५ प्रतिशत अतिरिक्त भत्ता उपलब्ध गराउँदै आएको छ । सोही कारण उनीहरू आन्दोलनमा उत्रेका हुन् । यता आयोजनाका प्रमुख मोहन गौतमले भने दोलखा जिल्लावासी कर्मचारीलाई आन्दोलनमा नजान अनुरोध गरेका छन् । कर्मचारीको माग माथिल्लो तहको बोर्ड बैठकमा लगेर छलफल गर्ने उनले बताए ।