काठमाडौं, साउन १३
श्रीराम सुगर मिल्स उखु किसानहरूलाई करोडौँ रुपैयाँ भुक्तानी नगरिकन सधैँका लागि बन्द भएको छ । मिलले एक विज्ञप्ति जारी गर्दै दुई अर्ब १७ करोड रुपैयाँ घाटा देखाएर सधैँको लागि बन्द भएको घोषणा गरेको हो । कम्पनीका अनुसार आर्थिक वर्ष २०७५/०७६ सम्ममा कम्पनीको कुल घाटा दुई अर्ब १७ करोड ७५ लाख ५८ हजार तीन सय ७६ रुपैयाँ पुगेको छ ।
श्रीराम सुगर मिल्सले उखु किसानलाई २६ करोड ७७ लाख ७८ हजार छ सय २३ रुपैयाँ भुक्तानी गर्न बाँकी छ । साथै कम्पनीले पुँजीको अभावको कारण देखाउँदै विगत चार महिनादेखि उद्योगमा कार्यरत श्रमिकहरूको कर्मचारी सञ्चयकोषबापतको रकम र पारिश्रमिक समेत भुक्तानी गरेको छैन । गत आर्थिक वर्षमा पनि कम्पनीले जम्मा १३ दिन मात्र क्रसिङको लागि खुलेको जनाएको छ ।
गत फागुन १३ गतेदेखि मिल्स पूर्णरूपमा बन्द रहेको कम्पनीले जनाएको छ । कम्पनीले सञ्चालकहरू करौडौँ खर्च गरेर मिललाई बचाउन खोजे पनि नसकेपछि अन्नतः बन्दको घोषणा गर्नुपरेका जनाएको छ । सुरुका केही वर्षहरूमा उद्योग राम्रैसँग सञ्चालनमा आए पनि विगत लामो समयदेखि कम्पनी हरेक वर्ष करोडौँ रुपैयाँको घाटामा जान थालेपछि बाध्य भएर बन्द गर्नुपरेको कम्पनीको भनाइ छ । कम्पनी व्यवस्थापन पक्षले जतिसुकै प्रयास गरे पनि उद्योग सञ्चालनमा आउनसक्ने अवस्था नभएको विज्ञप्तिमा उल्लेख छ ।
उद्योगले हरेक वर्ष करोडौँ रूपैयाँको नोक्सानी व्यहोर्नुपरिरहेको वर्तमान परिस्थितिमा उद्योगमा कार्यरत श्रमिक, कर्मचारीहरूलाई न्यूनतम तलबभत्ता दिन समेत उद्योगसँग आर्थिक अभाव रहेको बताएको छ । उद्योग बन्द भए पनि उद्योगमा कार्यरत श्रमिक, कर्मचारीहरूलाई बाँकी रहेको तलब, भत्ता र अन्य सुविधाको रकम भुक्तानी गर्दै जाने कम्पनीले जनाएको छ । श्रमिक, कर्मचारीहरूको तलब, भत्ता र सुविधा भुक्तान गर्न उद्योगको नाममा रहेको चल अचल श्रीसम्पत्ति बिक्री गरी भुक्तानी गरिने कम्पनीको भनाइ छ । यसको लागि कम्पनी व्यवस्थापन पक्षले नेपाल सरकारसँग आवश्यक अनुमतिको लागि प्रक्रिया सुरु गरिसकेको जनाएको छ ।
सम्बन्धित निकायबाट आवश्यक अनुमति प्राप्त हुनासाथ उद्योगको चल अचल सम्पत्ति बिक्री कार्यलाई तत्काल अगाडि बढाइने र सोबाट प्राप्त हुने रकमबाट उद्योगमा कार्यरत श्रमिक, कर्मचारी तथा उखु किसानहरूलाई प्राथमिकता दिई क्रमशः भुक्तानी गरी सबै बाँकी बक्यौता फरफारख गरिने कम्पनीले बताएको छ । कम्पनीको चुक्ता पुँजी ३० करोड ४६ लाख रुपैयाँ रहेको छ ।