काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेता प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज छलफलमा जुट्ने भएका छन् । सत्तासाझेदार दुई र प्रमुख प्रतिपक्ष दलका नेताबीच बैठक हुन लागेको हो ।
प्रचण्डका स्वकीयसचिव गोविन्द आचार्यले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिनको ४ बजे बैठक बस्ने जानकारी दिए । बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल गरिनुका साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुन सक्ने अनुमान छ ।
प्रधानमन्त्री ओलीले यही चैत ७ गते प्रतिनिधिसभा बैठकमा संक्रमणकालीन न्यायका बाँकी काम टुंग्याउन प्रचण्डसँग सम्पर्कको प्रयास भइरहेको बताएका थिए ।