पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसका दिन आफ्ना प्रजालाई सम्बोधन गर्दै देशको अवस्थाको जस्तो चित्रण गरेका थिए केही दिनमा नै त्यो झुटो साबित भएको पाइयो । उनले नेपाली ठूलो दुःखकष्टमा रहेका भन्नेसम्मको सन्देश दिन खोजेका थिए । उनले भनेका थिए, ‘नेपालको अस्तित्व नासिँदै गएको छ । नेपालका होनहार जनशक्ति दिनहुँ ताँती लागेर देशबाट बाहिरिँदै गएका छन् । नेपालीको पसिना आफ्नो माटोमा होइन, अन्तै पोखिइरहेको छ । जन्मँदै नेपालीको शिरमा हजार होइन लाखको ऋणभारको बोझ छ । हाम्रा कलकारखाना, व्यापार, व्यवसाय निरन्तर धराशायी बन्दैछन् । हुँदाहुँदा हाम्रा शिक्षालयहरूमा समेत शिक्षक र विद्यार्थीहरू पातलिँदै गएका छन् । तीन दशकयताको हाम्रो स्थिति यस्तो छैन । आम जनताको मुहारमा मुस्कान ल्याउने, जनतालाई खुशी र सुखी बनाउने सबैले खोजेको र हामीले चाहेर रोजेको पनि त्यही प्रजातान्त्रिक व्यवस्था हो । व्यवस्था बदलियो भन्नेहरूले अवस्था राम्ररी बदल्न नसक्नु दुःखद कुरा हो ।’
देशको अवस्था भने उनले दाबी गरेजस्तो रहेनछ । नेपालीहरू छिमेकी अरु देशका भन्दा धेरै प्रशन्नतासाथ जीवन निर्वाह गरिहेका रहेछन् । पूर्वराजाको यस्तो दाबीलगत्तै आएको एउटा रिपोर्टले यस्तो चित्र देखाएको हो । त्यो रिपोर्टका अनुसार नेपाल दक्षिण एसियाकै खुसी मुलुक बनेको छ बन्न सफल भएको छ । नेपाल विश्वमा खुसी भएका देशहरूको सूचीमा ९२औँ स्थानमा आएको छ । एक सय ४७ मुलुकमा गरिएको सर्वेक्षणमा नेपाल गत वर्षभन्दा खुशी प्राप्त गर्ने देशमा एक स्थान माथि चढेको हो । गएको वर्ष नेपाल ९३औँ स्थानमा थियो । राष्ट्रसंघीय दिगो विकास परियोजनाले हालै सार्वजनिक गरेको (वर्ल्ड ह्याप्पिनेस रिपोर्ट–२०२५) को सूचीमा नेपालको स्थान ९२औँ मा देखियो । रिपोर्टअनुसार नेपालले १० मा ५.३११ अङ्क प्राप्त गरेको छ । सन् २०१९ मा नेपाल १००औँ स्थानमा थियो । प्रत्येक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुसी दिवस मनाइन्छ ।
एसियाली देशमा नेपालपछि भारत, पाकिस्तान, बंगलादेश श्रीलंका आदि देशहरू यस्तो खुसीको सूचीमा परको देखिन्छन् । भारत खुसी राष्ट्रको सूचीमा ११८औँ स्थानमा छ भने पाकिस्तान १०९औँ र श्रीलंका १३३औँ नम्बरमा छ । खुशीको मापन गरिएको यो रिपोर्ट ग्यालप, अक्सफोर्ड वेलबिङ रिसर्च सेन्टर, संयुक्त राष्ट्र संघको दिगो विकास समाधान नेटवर्क र सम्पादकीय बोर्डको साझेदारीमा तयार हुने गर्छ । खुसी मापन गर्ने भनिएको वल्र्ड ह्याप्पिनेस रिपोर्ट ग्यालप वर्ल्ड पोल डेटाको सहयोगमा दिगो विकाससम्बन्धी संयुक्त राष्ट्र संघको एक अभियानले यसलाई प्रकाशन गरेको हो । कुन देशले कति स्कोर पाए भन्ने सर्वेक्षणमा आधारित यो सर्वेक्षणमा सहभागीहरूले आफ्नो वर्तमान जीवनको गुणस्तरलाई शून्यदेखि १० को स्केलमा मूल्याङ्कन गरेका आधारमा खुसीको मापन गरिने हुन्छ । सम्बन्धित मानिस बसेको समाजमा जीवन जिउने स्वतन्त्रता, स्वस्थ जीवन, सामाजिक सहयोग, एक–अर्कालाई सहयोग गर्ने भावना, आर्थिक अवस्था अनि भ्रष्टाचारबारे विद्यमान आम सोचजस्ता विषयले खुशीको निर्धारण गर्नेगरेका रिपोर्टले बताएको छ ।
यो पटकको अध्ययनमा पनि फिनल्यान्ड विश्वको सबैभन्दा खुसी राष्ट्रमा परेको छ । सूचकाङ्कको पहिलो नम्बरमा फिनल्यान्डको नाम छ जो आठौँ वर्षसम्म दोहोरिरहन सफल भएको छ । सिंगापुर ३४औँ, थाइल्यान्ड ४९औँ, जापान ५५औँ, मलेसिया ६४औँ नम्बरमा छन् । चीन ६८औँ नम्बरमा छ भने सबैभन्दा तल अफगानिस्तानको नाम छ । अफगानिस्तान १४७औँ स्थानमा झरेको छ ।
यो विवरणले नै बताउँछ पूर्वराजाले भनेजस्तो देशका नागरिकको जीवन निर्वाह त्यति कष्टकर छैन । यद्यपि यो नै पर्याप्तचाहिँ होइन ।