नेपाली पर्यटनलाई धेरै प्रकारले विविधीकरण गर्न सकिन्छ । जस्तै ग्रामीण पर्यटन, पर्वतीय पर्यटन, पदयात्रा पर्यटन, सांस्कृतिक पर्यटन, भाषा अध्ययन पर्यटन, जातजाति अवलोकन तथा अध्ययन पर्यटन, भेषभूषा अवलोकन तथा अध्ययन पर्यटन, चरा–चुरुङ्गी अवलोकन पर्यटन, निकुञ्ज भ्रमण पर्यटन, सफारी पर्यटन, बाइक राइडिङ पर्यटन, साइक्लिङ पर्यटन, सिकार पर्यटन, जलयात्रा पर्यटन, माउन्टेन फ्लाइट पर्यटन, स्कि पर्यटन, सहर अवलोकन पर्यटन, गाउँ हेर्ने–घुम्ने पर्यटन, जैविक विविधता अध्ययन पर्यटन, मनोरञ्जन पर्यटन, हिमाल तथा उच्च लेकाली क्षेत्रमा फूल फूल्ने सिजनमा फूल हेर्ने पर्यटन, खाना पर्यटन, कृषि पर्यटन, चिया पर्यटन, जडीबुटी अवोकन तथा अध्ययन पर्यटन, साहसिक गतिविधि पर्यटन, योग–योगा पर्यटन, सम्पदा पर्यटन, स्वास्थ्य उपचार पर्यटन, वनजंगल घुम्ने पर्यटन, ऐतिहासिक तथा प्राचीन बस्ती अवलोकन पर्यटन, जाडो याममा गरिने जाडो (विन्टर) पर्यटन, वर्षा (पानी पर्ने सिजनमा दर्के–आकासे पानीमा भिज्दै गरिने पर्यटन, जात्रा तथा मेला पर्यटन, हिन्दु मठ–मन्दिर अवलोकन पर्यटन, गुम्बा भ्रमण तथा अवलोकन पर्यटन, सिमसार क्षेत्रको भ्रमण तथा अवलोकनलगायत अन्य विविध खालको पर्यटनको प्रचुर मात्रामा सम्भावना रहेको छ, हाम्रो देश नेपालमा । ग्रामीण अर्थात् गाउँ पर्यटनलाई पनि नेपाली पर्यटन उद्योगको एक मेरुदण्ड मान्न सकिन्छ, मान्नुपर्ने हुन्छ ।
पर्यटक भन्नेबित्तिकै उनीहरूलाई सुविधासम्पन्न होटल, लज अथवा गेस्ट हाउस चाहिन्छ, मीठोमसिनो मात्रै खान पर्छ । अनि उनीहरूलाई मनोरञ्जन अर्थात् रमाइलो पनि गर्नुपर्ने हुन्छ । अब ग्रामीण क्षेत्रमा भ्रमण गर्न गएका वा जाने पर्यटकका लागि त्यस्तो राम्रो र सुविधासम्पन्न होटल, लज अथवा गेस्ट हाउस हुन्छ ? उनीहरूले मीठोमसिनो खान पाउँछन् ? साथै पर्यटकहरूले रमाइलो गर्न र मनोरञ्जन लिन पाउँछन् त ? भन्ने प्रश्न गर्न सकिन्छ । हो त नि, ग्रामीण क्षेत्रमा त ठूलाठूला सहरबजार वा चल्तीका अन्य पर्यटकीय क्षेत्रमा जस्तो सुविधासम्पन्न डिलक्स र लक्जरी होटल, स्पा, लज अथवा गेस्ट त हाउस हुँदैन । निश्चय नै ग्रामीण क्षेत्रमा भ्रमण गर्न जाने पर्यटकहरूले त स्थानीय मानिसहरू (घरगाउँकै) कोठा–चोटामा बस्ने हो । स्थानीय जनताहरूले उत्पादन गरेकै अन्नपात, सागसब्जी र पशुजन्य (मासु एवं दुग्धजन्य पदार्थ) आहारा लिने र फलफूहरू खाने हो । त्यस्तै स्थानीय जन समुदायले देखाउने नाचगान र गानाबजानाबाटै मनोरञ्जन लिने हो ।
अर्को महत्वपूर्ण कुरो भनेको हाम्रो देश नेपालमा ग्रामीण पर्यटन अर्थात् गाउँ पर्यटनले धेरैभन्दा धेरै रोजगारी स्थानीयस्तरमै दिन्छ भने स्थानीय जनताहरूले उत्पादन गरेका अन्नपात, सागसब्जी र पशुजन्य (मासु एवं दुग्धजन्य पदार्थ) उत्पादन, फलफूहरूको खपत पनि बढेर जान्छ । जसले गर्दा ग्रामीण क्षेत्रमा रोजगारीको अवसर सिर्जना हुने, बेरोजगारी घट्ने, स्थानीय जातजाति र समुदायको कला, संस्कार, संस्कृति, भेषभूषाको प्रवर्द्धन हुने, सामाजिक, आर्थिक विकासमा टेवा पुग्ने, सडकलगायत पूर्वाधार विकास हुने, स्थानीय जनताहरूको आयमा वृद्धि भई आर्थिक रूपमा उनीहरू समृद्ध हुने, नेपालका लागि विदेशी मुद्रा आर्जनमा योगदान पुग्ने, नेपालको गाउँघर अर्थात् ग्रामीण क्षेत्रको प्रचारप्रसार विश्वव्यापीरूपमा हुने, विज्ञान प्रविधिकिो पछिल्लो उपलब्धिहरू गाउँ–गाउँमा चाँडै पुग्ने, हुने, नेपाली कला, संस्कार, संस्कृति रहनसहन, भेषभूषा र नेपालीहरूको मिलनसारपन एवम् हँसिलो मुद्रासहितको स्वागत र सत्कारको विश्वव्यापी रुपमा ब्रान्डिङ हुने, पुँजी पलायन पनि रोकिने गरेको छ ।
नबुझ्ने वा थाहा नभएका मान्छेहरूले त सोध्न सक्छन्, नेपालको ग्रामीण क्षेत्रमा के नै पुँजी छ र ? अनि पुँजी पलायन हुन्छ ? ल एक छिनलाई मानौँ भएकै भए पनि ग्रामीण पर्यटनका कारण कसरी पुँजी पलायन रोकिएको छ ? जस्तै नेपालका धेरै गाउँघरहरू अहिले युवाविहीन रहेको वा युवाविहीन हुँदै गएको हामी सबैलाई ज्ञातव्य नै छ । तर, ग्रामीण पर्यटन प्रवर्द्धन र सञ्चालनले गर्दा युवाहरू गाउँघरमै अडिन सकेका छन्, सक्छन्, अडिन सक्छन् । उदाहरणका लागि जहाँ जहाँ ग्रामीण पर्यटन प्रवर्द्धन र सञ्चालन भएको छ, त्यहाँका युवाहरू कम मात्रै विदेशमा काम गर्न वा सहरमा अवसर खोज्न गएका छन् । हो, यसै कारणले गर्दाखेरि वैदेशिक रोजगारमा जाने वा विदेशमा पढ्न जाने युवाहरू रोकिन्छ, रोकिने गरेको छ । त्यसले गर्दा युवाहरू गाउँघरमै अडिन सकेका छन्, अडिन सक्छन् । जसले गर्दा गाउँघरको पुँजी पलायन रोकिएको मात्रै नभएर वैदेशिक रोजागरीका कारण घरपरिवारबाट टाढा हुनुपर्ने बाध्यता अझ वैदेशिक रोजागरीका कारण घरपरिवारबाट टाढा हुनुपर्ने बाध्यता मात्रै नभएर त्यही कारण हुने पारिवारिक बेमेल र झै–झगडा एवं विछोडसम्मको डामाडोल अवस्थालाई पनि रोकेको अथवा भनौँ कम गरेको छ । त्यसरी विदेश जाँदा एक जनाबराबर कम्तीमा साढे एक लाख, दुई लाखदेखि ८०–९० लाखसम्म (देशहरूमा हुने कमाइ हेरीकन फरक–फरक दर–रेट) पैसा बचत हुन्छ, रोकिन्छ । महत्वपूर्ण कुरो स्वदेशमै युवायुवतीहरूले रोजगार पाएपछि, रोजगार भएपछि घरपरिवारसँग उनीहरूको विछोड पनि हुँदैन । त्यसो भएपछि सधैँ तनावमा जिन्दगी गुजार्नु पनि परेन ।
जे होस्, नेपालको सन्दर्भमा ग्रामीण पर्यटन अर्थात् गाउँ पर्यटन र घरवास (होमस्टे) खास गरी घरवासको सम्बन्धमा भन्नुपर्दा, लेख्नुपर्दाखेरि सर्वप्रथम स्याङ्जा जिल्लाको सिरुबारी गाउँमा क्याप्टेन रुद्रमान गुरुङलाई हामीले सम्झनुपर्ने हुन्छ । उनै रुद्रमान अर्थात् भारतीय सेनामा कार्यरत रहँदा क्याप्टेन पदसम्म पाएका रुद्रमान गुरुङले नै विसं २०५४ मा गाउँका केही साथीभाइसँग मिलेर घरवास सुरु गरेका थिए । हो, त्यही कारण पनि लोक सेवा आयोगले सोध्ने प्रश्नलगायत अन्य हाजिरी जवाफ प्रतियोगितामा नेपालमा सञ्चालन भएको पहिलो घरवास अर्थात् होमस्टे कहाँ रहेको छ ? भनी गरिने प्रश्नको सही जवाफ ‘स्याङ्जा जिल्लाको सिरुबारी गाउँ’ भीन दिने, लेख्ने गरिएको छ ।
नेपाल भ्यु अनलाइनमा केही वर्षअघि आएको अपलोड गरिएको–प्रकाशित भएको एक फिचर लेखअनुसार स्याङ्जा जिल्लाको सिरुबारी गाउँमा विसं २०५४ असोज २२ गतेका दिनदेखि बाहिरबाट आउने आगुन्तक अर्थात् पाहुनाहरूलाई औपचारिकरुपमा राख्न सुरु गरिएको थियो । साथै यो (सिरुबारी) गाउँलाई विसं २०५७ सालमा त सिरुबारी गाउँलाई नेपालको ‘नमुना पर्यटन गाउँ’ भनी घोषणा गरियो । त्यसपछि त नेपालका अन्य धेरै गाउँ–ठाउँमा पनि ग्रामीण पर्यटन अर्थात् गाउँ पर्यटन एवं घरवास (होमस्टे) सञ्चालनमा तीव्रता आउन थाल्यो ।
यसरी हेर्दा पछिल्लो पटक नजानिदो तरिकाले नेपालको ग्रामीण पर्यटनमा होमस्टेको महत्वपूर्ण योगादन रहँदै आएको देखिन्छ । किनकि, ग्रामीण पर्यटन प्रवर्द्धन र सञ्चालनले गर्दा युवाहरू गाउँघरमै अडिन सकेका छन् । जहाँ ग्रामीण पर्यटन प्रवर्द्धन र सञ्चालन भएको छ, त्यहाँका युवाहरू कम मात्रै विदेशमा काम गर्न वा सहरमा अवसर खोज्न गएका छन् । जसले गर्दाखेरि वैदेशिक रोजगारमा जाने वा विदेशमा पढ्न जाने युवाहरू स्वदेशमै रोकिने गरेको छ । त्यसले गर्दा गाउँघरको पुँजी पलायन रोकिएको मात्रै नभएर वैदेशिक रोजागरीका कारण घरपरिवारबाट टाढा हुनुपर्ने बाध्यता अझ वैदेशिक रोजागरीका कारण घरपरिवारबाट टाढा हुनुपर्ने बाध्यता मात्रै नभएर त्यही कारण हुने बेमेल र भैm–झगडा एवं विछोडसम्मको अवस्थालाई पनि रोकेको छ । अनि त्यसरी विदेश जाँदा लाग्ने कम्तीमा साढे एक लाखदेखि ८०–९० लाखसम्म पैसा बचत हुन्छ ।