लन्डन । तनावपूर्ण सार्वजनिक वित्तसँग जुझिरहेकी बेलायती वित्तमन्त्री राचेल रिभ्सले आइतबार चार वर्षभित्र सरकारको सञ्चालन खर्चहरू १५ प्रतिशतले कटौती गर्ने योजना बनाएको बताएकी छन् । उनले विभिन्न सरकारी मन्त्रालयमा अबौँ पाउन्डको खर्च कटौतीको विवरण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । ‘हामी यस संसद्को अन्त्यसम्ममा सरकार सञ्चालन खर्चहरू १५ प्रतिशतले कटौती गर्ने प्रतिबद्धता गर्दैछौँ’, उनले भनिन् । उक्त लक्ष्य बेलायतको निजामती सेवामा वार्षिक दुई अर्ब २० करोड पाउन्ड (दुई अर्ब ८० करोड डलर)को बचतमा परिणत हुने रिपोर्ट गरिएको छ । हाल बेलायतमा निजामती सेवामा ५० हजारभन्दा बढी व्यक्ति कार्यरत छन् ।
रिभ्सले कति जना निजामती कर्मचारीले आफ्नो जागिर गुमाउनेछन् भन्ने निर्णय व्यक्तिगत विभागहरूमा निर्भर हुने तर कर्मचारीहरू १० हजारले कटौती गर्न सकिने बताइन् ।