काठमाडौं । विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकले वाक फर वाटर, वाक फर लाइफ प्रभातफेरी कार्यक्रम (वाकाथन) सम्पन्न गरेको छ । बैंकले विश्व पानी दिवसको अवसरमा पहिलो पटक आयोजना गरेको यो कार्यक्रम आयोजना गरेको हो ।
सिद्धार्थ बैंकले दिगो विकासका लक्ष्यलाई आत्मसात गर्दै आफ्नो बैंकिङ कारोबार तथा प्रक्रियालाई सोहीअनुरुप गर्दै आएको छ । यसै क्रममा बैंकले पर्यावरणीय, सामाजिक तथा सुशासन (ईएसजी) मान्यताहरुलाई अवलम्बन गरी वित्तीय सेवामा दिगोपन सुनिश्चित गर्न विविध नीति तथा कार्यक्रमहरु समेत लागू गरिसकेको छ । हरित वित्त, आधुनिक डिजिटल बैंकिङ तथा सामाजिक उत्तरदायित्वका पहलहरुमार्फत बैंक वित्तीय पहुँच विस्तार गर्न सदैव तत्पर छ भने पुनर्नवीकरणीय ऊर्जा, वातावरणमैत्री लगानी तथा जिम्मेवार बैंकिङ अभ्यासलाई प्राथमिकता दिँदै, दिगो आर्थिक वृद्धिमा योगदान पुर्याउन पनि बैंक प्रतिबद्ध रहेको छ ।
संयुक्त राष्ट्र संघले सन् १९९३ देखि हरेक वर्ष २२ मार्चमा विश्व पानी दिवस मानउँदै आएको छ । यस दिवसको उद्देश्य दिगो विकास लक्ष्य (एसडीजी) अन्तर्गत ’सबैका लागि पानी र सरसफाइ सुनिश्चित गर्न योगदान पुर्याउनु हो । यस अवधिमा पानीको महत्वबारे जनचेतना फैलाउने विभिन्न अभियानहरु सञ्चालन गरिन्छ । यस क्रममा बैंकले आफ्नो दिगो बैंकिङ उद्देश्यलाई थप सार्थक बनाउन र जनमानसमा पानीको महत्वबारे जनचेतना फैलाउनका लागि वाक फर वाटर, वाक फर लाइफ वाकाथन कार्यक्रम आयोजना गरेको हो । पानी पृथ्वीमा जीवनको आधार हो । मानव मात्र नभई सम्पूर्ण जीवजन्तु, वनस्पति, कृषि, उद्योग तथा पारिस्थितिक प्रणालीका लागि पानी अनिवार्य छ । यदि हामीले यसको दिगो व्यवस्थापन नगरे, भविष्यमा स्वच्छ पानीको अभाव गम्भीर समस्या बन्न सक्छ भन्ने सन्देश फैलाउनका निम्ति सिद्धार्थ बैंकले यस वाकाथन कार्यक्रमको उद्देश्य रहेको थियो ।
यस वर्षको विश्व पानी दिवसको मुल एजेन्डा हिमनदी संरक्षण रहेको छ । हिमनदी संरक्षण भनेको पृथ्वीको दीर्घकालीन अस्तित्व सुरक्षित गर्नु हो। हिमनदीहरूबाट प्राप्त पानी पिउन, कृषि, उद्योग, ऊर्जा उत्पादन तथा पारिस्थितिक सन्तुलनका लागि अत्यावश्यक छ । कार्यक्रम उद्घाटन गर्ने क्रममा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेलले नेपालजस्तो हिमाली मुलुकमा हिमनदीहरु पग्लिनु गम्भीर समस्या भएको बताउँदै यसको संरक्षणलाई राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दाका रुपमा अघि बढाउनुपर्ने धारणा राखे । उनले पृथ्वीको तापमान वृद्धिसँगै हिमनदीहरु पग्लिँदा पानीको प्राकृतिक चक्र नै प्रभावित भई विभिन्न सङ्कट उत्पन्न भइरहेको बताए ।
बैंकले आयोजना गरेको यस पाँच किमि लामो प्रभातफेरी कार्यक्रम नक्साल नारायणचौरबाट हात्तीसार, पुतलीसडक, बागबजार, रत्नपार्क, जमल, दरबारमार्ग, गैरिधारा हुँदै पुनः नक्सालसम्म आई सम्पन्न भएको थियो । कार्यक्रममा बैंकका कर्मचारीलगायत विभिन्न सरोकारवालाहरु गरी छ सय ५६ जना व्यक्तिहरुको सहभागिता रहेको थियो जसमध्ये तीन सय ९५ जना पुरुष र दुई सय ६१ जना महिलाहरु थिए ।