काठमाडौं । नेपाल पर्यटन बोर्डले म्यानमारको यांगुनमा सम्पन्न ‘नेपाल–म्यानमार व्यापार तथा पर्यटन एक्स्पो २०२५’ मा बौद्ध पर्यटन प्रवर्द्धनमा जोड दिएको छ ।
नेपाल र म्यानमारबीचको ६५औं कूटनीतिक सम्बन्धको अवसरमा बोर्ड र म्यानमारस्थित नेपाली दूतावासको सहकार्यमा हालै आयोजित सो एक्स्पोमा बौद्ध पर्यटन प्रवर्द्धनका साथै नेपाली पर्यटन उत्पादन, सूचना प्रविधि समाधान तथा अन्य वस्तुहरू प्रदर्शन गरेको हो । एक्स्पोमा नेपालबाट १६ र म्यानमारका ३० वटा पर्यटन कम्पनीहरूको सहभागिता रहेको थियो । नेपालको तर्फबाट बौद्ध पर्यटन प्रवर्द्धनमा विशेष जोड दिँदै म्यानमारका पर्यटकलाई नेपालमा रहेको नयाँ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) मा हुने उडानमार्फत लुम्बिनी भ्रमण गर्न आग्रह गरिएको छ । साथै, म्यानमारलाई बैंकिङ तथा वित्तीय प्रविधि क्षेत्रको विकासका लागि सहयोगी बनाउन नेपाली सूचना प्रविधि क्षेत्रलाई प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको संयुक्तरूपमा म्यानमारका संघीय मन्त्री यू टुन ओन, म्यानमारका लागि नेपालका राजदूत हरिशचन्द्र घिमिरे, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष शिव अग्रवाल, र म्यानमार चेम्बर अफ कमर्सका अध्यक्ष यू ए विनले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा यांगुन क्षेत्रका मुख्यमन्त्री यू सो थिन, सरकारी अधिकारीहरू, दुवै देशका व्यावसायिक प्रतिनिधिहरू, म्यानमारस्थित नेपाली समुदाय तथा पर्यटन क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । संघीय मन्त्री यू टुन ओनले नेपाल र म्यानमारबीचको व्यापारिक सम्बन्धलाई मजबुत बनाउँदै पर्यटन प्रवद्र्धनमा सहकार्य आवश्यक बताए । उनले दुवै देशका सरकार र निजी क्षेत्रबीच सहकार्य गर्दै पर्यटन विकास, आपसी व्यापार मेला आयोजना, र मानव संसाधन विकासमा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।
यस्तै पर्यटन बोर्ड र म्यानमार टुरिज्म फेडरेसनले संयुक्त बैठक आयोजना गरेका थिए । सो बैठकमा नेपाल र म्यानमारका पर्यटन प्रतिनिधिहरूबीच सहकार्यलाई बलियो बनाउने विषयमा छलफल भएको थियो । यस्तै कार्यक्रममा नेपाली दूतावासले नेपाली परिकारहरू मोमो, सेलरोटी, आलुको अचार र नेपाली चिया समावेश गरिएको ’लाइभ फुड स्टेशन’को आयोजना गरेको थियो । म्यानमारमा कार्यरत विभिन्न देशका राजदूत तथा कूटनीतिक प्रमुखहरूले समेत नेपाली खानाको स्वाद लिएका थिए । त्यसैगरी नेपाल पर्यटन बोर्डले म्यानमारसँगको सम्बन्धलाई थप सुदृढ गर्दै बौद्ध पर्यटनलाई प्रोत्साहन गर्न र सूचना प्रविधि क्षेत्रमा सम्भाव्यता खोजी गर्न संयुक्त पहल गरिने प्रतिबद्धता जनाएको छ ।