काठमाडौँ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र रैती दुनियाँबाट सार्वभौम नागरिक हुन नेपाली जनताले रगतसँग साटेको उपलब्धि भएको बताएका छन् ।
राष्ट्रपति पौडेलले शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई भएको स्पष्ट पारे । सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा हरेक नागरिक आफ्नो सार्वभौमसत्ताको आफैँ मालिक हुने व्यवस्था भएको उनले बताए । उनले स्वतन्त्रता र शासन प्रणाली समयको माग र जनताको चाहना भएको बताउँदै नेपाली जनतालाई आफूले बनाएको संविधान बाहिरका कुनै पनि निरङ्कुशता र अराजकता स्वीकार्य नहुने बताए ।
राष्ट्रपति पौडेलले पैदलयात्रा गर्दै यस ठाउँमा र पूर्वी पहाडका डाँडाकाँडा सभामुख हुँदा पुगेको र जनतासँग साक्षात्कार गरेको स्मरण गरे । उनले भावविह्वल हुँदै नजिकै रहेको टिम्बुरबोटेको ओडारमा रुझ्दै र भिज्दै पुगेको बताए । टिम्बुबोटेको नाम उच्चारण गर्दा राष्ट्रपति पौडेलको गला अवरूद्ध भएको थियो । टिम्बुरबोटे नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा २०४१ सालमा पञ्चायती सरकारले दर्जनभन्दा माथि योद्धाको हत्या गरेको स्थान हो ।
राष्ट्रपति पौडेलले विगतमा भएका कमजोरीबाट पाठ सिकेर अघि बढ्दै समृद्ध राष्ट्र निर्माणको अभियानमा जुट्न सबैलाई आग्रह गरे । उनले देशको युवा जनशक्ति विदेश पलायन हुने प्रवृत्ति रोक्न जरुरी रहेको उल्लेख गर्दै यसका लागि उचित शिक्षा, स्वास्थ्यको प्रबन्ध, उद्योगधन्दाको विकास, उत्पादनमा वृद्धि, गाउँमै रोजगारी र आम्दानीको व्यवस्थाको लागि जनता केन्द्रित नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्नुपर्ने बताए ।
राष्ट्रपति पौडेलले सङ्घीयता कार्यान्वयनका लागि तीन तहको सरकार मुलुकमा क्रियाशील भएको भन्दै जनताको ठूलो सङ्घर्ष, त्याग र बलिदानले हामीले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याएको बताए । उनले कृषि, जलस्रोत पर्यटन, पूर्वाधार र उद्योगधन्दाको विस्तार नै मुलुक विकासको आधार भएको बताउँदै यही भूगोलको सोलु र दूधकोशी नदी क्षेत्रमा निर्माणाधीन साना ठूला जलविद्युत् आयोजनाबाट मुलुकको आर्थिक विकासमा योगदान पुग्नेमा आफू विश्वस्त भएको बताए ।