चितवन । बा प्र ०३–००१ ख ४८७४ नम्बरको कोइला बोकेको ट्रक त्रिशुली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ । रौतहट सखुवाका अन्दाजी ३५ वर्षीय ट्रक चालक रामनारायण यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार मंगलबार बिहान नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको कोइला बोकेको ट्रक अनियन्त्रित भइ भरतपुर महानगरपालिका–२९ स्थित चौध किलोमा त्रिशूली नदीमा खसेको हो । ट्रकका चालक र सह चालक दुबैजना ट्रक त्रिशुलीमा खस्दा घाइते भएका थिए । घाइतेमध्ये चालक यादवको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान ८ः३० बजे मृत्यु भएको उनले बताए ।
रौतहटको गरुडा नगरपालिका–५ का १९ वर्षीय ट्रकका सहचालक असुन्द्रकुमार यादव घाइते भएका छन् । प्रहरीले उनको चितवन मेडीकल कलेजमा उपचार भइरहेको जनाएको छ ।