काठमाडौं । टिकटकले एनसेल नेपाल सुपर लिग (एनएसएल)सँग आगामी तेस्रो सिजनको लागि अफिसियल इन्टरटेनमेन्ट पार्टनरको रूपमा साझेदारी गरेको छ । यो सहकार्यसँगै टिकटकमा विशेष कन्टेन्ट, खेलाडीहरूको संलग्नता र प्रतियोगिताका हाइलाइटमार्फत फ्यानहरूलाई कार्यक्रमको अझै नजिक ल्याइने जनाइएको छ ।
मार्च २९ देखि काठमाडौंमा आयोजना हुने एनसेल एनएसएल ३ को समयमा फुटबल प्रशंसकहरूले टिकटक प्लेटफर्ममा संलग्न हुने र कन्टेन्टहरू बनाउने अवसर पाउनेछन् । दशरथ रंगशालामा आयोजना हुने एक महिना लामो फुटबल महोत्सव अप्रिल २६, २०२५ मा हुने फाइनलसँगै समाप्त हुनेछ । टिकटक पछिल्ला केही वर्षहरूमा नेपालमा खेलकुद र मनोरञ्जन कन्टेन्टको एक महत्त्वपूर्ण स्रोत एवं जोशिला प्रशंसक र क्रियटरहरूको लागि जमघटस्थलको रूपमा विकसित भएको छ । प्रत्येक दिन हजारौं भिडियोहरू साझेदारी गरिने प्लेटफर्मले मानिसहरूलाई आफ्ना मनपर्ने टिम, खेलाडी र म्याच डे इभेन्टहरू छलफल गर्ने ठाउँ दिन्छ ।
टिकटकको दक्षिण एसियाकी कन्टेन्ट अपरेसन प्रमुख पूजा दत्ताले टिकटक नेपालमा विगत दुई वर्षमा खेलकुद कन्टेन्टको जीवन्त केन्द्र बनेको बताइन् । टिकटकलाई नेपाली फुटबल मात्र नभई अन्य खेलहरूको लागि पनि फ्यानडमको घर बनाउने उनको भनाइ छ ।