हाम्रो बाल्यकालको साथी प्रकाशमान सिंह अहिलेको केपी ओली सरकारको मन्त्रीमण्डलमा उपप्रधान एवं सहरी विकास मन्त्री हुनुहुन्छ तथा नेपाली कांग्रेसको टोलीनेताको समेत प्रतिनिधित्व गर्नुभएको छ । हाम्रो लागि गर्व र खुसीको कुरा हुने भइहाल्यो । त्यतिमात्र नभएर प्रकाशमानले काठमाडौंको पनि प्रतिनिधित्व गरेको अर्को पाटो त छँदै छ ।
उहाँले मन्त्रालय सम्हालेको ११ महिना भइसकेको छ । यही क्रममा देशका विभिन्न जिल्लाहरूको दौडाह, समारोह, कार्यक्रम आदिमा भाग लिएको र सहरी विकाससम्बन्धी भाषण दिनेगरेको देख्न, हेर्न र सुन्न पाएका छौँ ।
कर्णाली प्रदेश भ्रमणको सिलसिलामा प्रकाशमानले नेपाली कांग्रेसको आउँदो महाअधिवेशनमा केन्द्रीय सभापति पदमा उम्मेदवारी दिने घोषणा समेत पनि गरिसकेको अवस्था छ । काठमाडौंबाट हालसम्म कुनै व्यक्ति न सभापति हुन सकेको छ न त प्रधानमन्त्री नै । प्रकाशमान दुवै पदमा पुग्नसक्ने मापदण्ड पूरा गरिसकेका नेपाली कांग्रेसका वरिष्ठ नेता हुनाले यसले धेरै महत्व राखेको छ । काठमाडौंवासी र साथीको नाताले हामी सोको स्वागत गर्दछौँ ।
प्रकाशमान सिंहको थाप्लोमा अहिले दुई ठूला जिम्मेवारी आएका छन्, सफलतापूर्वक मन्त्रालय सञ्चालन गर्नु तथा नेपाली कांग्रेसको सभापतिमा जित्नु र प्रधानमन्त्री बन्नु । हाम्रो शुभकामना रहिरहनेछ ।
उपप्रधान तथा सहरी विकास मन्त्रीको हैसियतले उहाँले आफ्नो दृष्टि र गर्ने कार्यक्रमका बारेमा समय–समयमा उजागर गर्दै आएको सामाजिक सञ्जालमार्फत सुन्नमा आएको छ । उहाँका नजिकका सहयोगीहरूले राम्रो अध्ययन गरेका होलान् । सहरी विकाससम्बन्धी उहाँसँग अहिलेसम्म बौद्धिक हिसाबले खास छलफल गर्ने सुअवसर त पाएको छैन तर आफू काठमाडौं महानगरको प्रमुखको आकांक्षी हुँदा उहाँसमक्ष काठमाडौंको विकाससम्बन्धी आफ्ना दृष्टि प्रस्तुत गरी छालफल भएको थियो ।
उहाँले सहरी विकासका धेरै राम्रा कुराहरू राख्दै आएको भए पनि हालै सरकारले नै गरेको कार्यान्वयन मूल्याङ्कनमा भने त्यति राम्रो गर्न सकेको देखिएन । तसर्थ अब उहाँले योजनाहरूको सुरुवात ढिलो गर्ने छुट छैन मात्र होइन रफ्तारमा दौडिनुपर्ने देखिन्छ । नभए जनताहरू जो भाषण होइन परिणाम हेर्न चाहन्छ निराश हुन बेर छैन । जनसमुदाय चनाखो भइसकेकोले नेताहरूले बोलेको र भाषणमा मात्र विश्वास गर्न छोडेका छन् ।
काठमाडौंवासीको चाहना, ‘जीवन्त काठमाडौं–बस्नलायक काठमाडौं’ हुन सकेको छैन । आफू स्वयम काठमाडौंको रैथाने, जन्मेको हुर्केको बासिन्दाको नाताले मन्त्रीज्यूले यही चाहनामा टेकेर काठमाडौंको समग्र विकासमा विशेष ध्यान दिएको हेर्न चाहेको हो । त्यसको मतलब अरु जिल्ला र सहरहरूमा ध्यान नदिने पक्कै होइन । उहाँका लागि यो एक ठूलो चुनौती हुनेछ, साथ साथै आफ्नो जन्मस्थानको विकास गर्ने शुअवसर पनि हो । यस्तो अवसर पछि पाऊला नपाऊला ।
काठमाडौं देशको राजधानी र मुटु हो भने ऐना पनि मान्न सकिन्छ । यसलाई राजनीतिक मात्र नभई, प्रशासनिक, सामाजिक, व्यापारिक तथा आर्थिक केन्द्रको रूपमा लिन सकिन्छ । त्यस्तै शिक्षा, स्वास्थ्य आदि सेवाहरूको अलावा रोजगारीको अधिकतम कारोबार पनि यहीबाट हुने गर्दछ । नेपालको पहिचान, धरोहर मानिने जात्रा, संस्कृति, गुठी, पुरातात्विक सम्पदा, इतिहास, खानपान, भेषभूषा समेतको छुट्टै महत्व रहेको छ भने पर्यटकहरूको मुख्य प्रवेशद्वार र गन्तव्य पनि मान्नु पर्दछ ।
देशमा माओवादी जनयुद्ध सुरु भएपछि जनताहरूमा डर, जिउज्यानको असुरक्षाका कारणले देशका विभिन्न स्थानबाट मानिसहरू काठमाडौंमा बसाइँ सर्न थालेको देखिन्छ । त्यसयता शिक्षा, स्वास्थ्य, रोजगारीलगायत अन्य अवसर पाउने हुँदा बसाइँसराइ झन् तीव्ररूपमा बढेको पाउँछौं र द्रूत गतिमा सहरीकरण हुन पुगेको देखिन्छ । आज काठमाडौंले थेग्नै नसक्ने गरी जनसंख्याको वृद्धि भएको छ । नेपाल अधिराज्यका सबैखाले जनसमुदाय तथा पेशामा संलग्नजस्तै विद्यार्थीदेखि जागिरदारसम्म, भुइँ व्यवसायीदेखि धनाढ्यसम्म, सबै दलका शीर्ष नेतादेखि दलका कार्यकर्तासम्म, उपचार गर्नेदेखि बिरामीका सहयोगीसम्म, कर्मचारी र उनका परिवारसम्म, साथै स्वदेशी–विदेशी पर्यटकको आवतजावत भइरहने हब बनेको छ भने बेरोजगार गरिब, सुकुम्बासीहरू पनि देख्न सक्छौँ । शान्ति सुरक्षालगायत स्थानीय समुदायलाई समेत काठमाडौंमा चुनौती दिनेखालका विभिन्न गिरोहहरूको समेत बसोबास हुने गरेको छ ।
काठमाडौंको विकास त्यति सहज तरिकाले हुने देखिँदैन । विनायोजना द्रूत गतिमा अव्यवस्थित नयाँ सहर विस्तार भइरहेकै छ भने अर्कोतिर पुरानो कोर बस्ती त छँदैछ र दुईको संगम बन्न पुगेको छ । पुरानो कोर बस्ती र नयाँ बस्तीको स्वरूप फरक–फरक पाइन्छ । पुरानो बस्तीमा भौतिक हिसाबले यथास्थितिमा जगेर्ना गर्नुपर्ने धेरै चुनौती छ । यहाँ पुरातात्विक हिसाबले संरक्षण, संवद्र्धन गर्नुपर्ने बाध्यता छ भने नयाँ बस्तीलाई व्यवस्थित गर्नुपर्ने चुनौती पनि छ । यस्ता चुनौतीहरूको सामना गर्न मुख्यतया काठमाडौं, ललितपुर महानगर र भक्तपुर नगरपालिकालगायत अरू स्थानीय सरकारले महत्वपूर्ण योगदान गर्नुपर्ने देखिन्छ ।
स्थानीय मतदाता एवं करदाताको नाताले काठमाडौं महानगरपालिकालाई प्रत्यक्ष सरोकार हुने भइहाल्यो । महानगरपालिकाले केही राम्रा काम नगरेको होइन । खास गरेर गैरकानुनी हिसाबले जग्गा कब्जा गर्ने, घरटहरा बनेकाहरू डर देखाएर भए पनि हटाउने र सरकारी स्वामित्वमा ल्याउने काम भएको छ, जुन स्वागतयोग्य छ । भुइँ व्यवसायी अस्थायीरूपमा भए पनि विस्थापित गरेको र सरसफाइमा केही प्रगति भएको देखिन्छ । मठमन्दिर निर्माण कार्य भएको छ । यी सबै सामान्य र नियमित कार्यमा पर्न आउँछ । अन्य काम महानगर प्रमुखको स्टन्टबाजी र स्वप्रचारको लागि बढीभन्दा बढी सामाजिक सञ्जाल प्रयोग गरी ‘तिललाई पहाड’ बनाएर नागरिकहरूलाई भ्रममा पार्ने काम भएको देखियो । नयाँसडक, दरबारमार्गलगायतका फुटपाथका अति सानातीना कामहरू यति चर्चित बनायो, चाहिनेभन्दा बढी प्रचार गर्दै धेरै महत्व दिइयो । मानौँ कसैले गर्न नसक्ने चमत्कार नै भयो जस्तो प्रचार गरियो ।
काठमाडौंवासीको समस्या समाधान गर्ने र अत्यावश्यक कामहरू गरिएको छैन । स्थानीयले राखेका मागहरू पूरा भएका पनि छैनन् । महानगरपालिकाभित्र पिछडिएका र पुराना कोर क्षेत्रमा भनेजस्तो काम हुन सकेको छैन । जुन क्षेत्रले ठूलो भाग ओगटेको भन्दा नयाँसडक, बानेश्वर, दरबारमार्गजस्ता क्षेत्रतिर नगरप्रहरीलगायत महानगरको सबै स्रोत परिचालित गरेको पाइन्छ ।
झण्डै तीन वर्ष बितिसक्दा पनि साना र मसिना कामबाहेक काठमाडौंलाई चाहिने ठूलो परियोजना जनता समक्ष ल्याउन सकिएको देखिँदैन । आफ्नै मातहतका कर्मचारीसँग मिलेर काम गर्न नसकेको, भएको आर्थिक स्रोत (२५ अर्ब) समेत खर्च, परिचालन गर्न सक्ने देखिएन । यी सबै विषयलाई हेर्दा समग्र व्यवस्थापन गर्ने क्षमतामा कमीले गर्दा स्थानीय सरकारको कमजोरी उदांगिएको छ । अहिले प्रमुख ‘काम कुरो एकातिर, पोस्ट हान्दै दुलोतिर’ हुन पुगेको छ । हुन त सामाजिक सञ्जालमा धेरै वाहवाही गरेको त देखिन्छ तर खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ भनेझैँ मतदाताहरूले सो वाहवाही गरेको चाहेर पनि हेर्न र देख्न पाएकै छैनन् । महानगरपालिकाबाट ठूलो विकासे कार्यक्रम कार्यान्वयन हुने सम्भावना न्यून देखिन्छ । जुन काठमाडौंबासीको लागि अन्याय हुनेछ ।
सहरी विकास मन्त्रालय एउटा पुलको कामगर्ने भएबाट सम्बन्धित स्थानीय सरकार पालिकाहरू, मन्त्रालयहरू बीच समन्वय गरेर प्राथमिकताको आधारमा चुनौतीहरूको सामना र समाधान गर्नुपर्ने देखिन्छ । सहरी विकासमन्त्रीको नाताले प्रकाशमान सिंहले गर्नुपर्ने र सक्ने धेरै देखिन्छ । जस्तैः झण्डै तीस वर्ष अगाडि तीन लाख जनसंख्यालाई परिकल्पना गरी सञ्चालनमा ल्याएको मेलम्ची खानेपानी परियोजनाले आजसम्म पनि सफल कार्यान्वयन गर्न सकेको देखिँदैन । हाल पानी उपभोग गर्नेहरूको संख्या बढेर झण्डै ५०÷६० लाख पुगिसकेको छ । खानेपानीको आपूर्ति अपुग भइसकेको छ । वैकल्पिक खानेपानीको व्यवस्था हिजो नै आउनुपर्ने थियो ।
उपत्यकामा बहने नदीहरू सुख्खायाममा पानी नभई फोहर बग्ने ‘ढलमती’ भई आसपासका बस्तीमा दुर्गन्धले गर्दा हिँड्न समेत नाख थुन्नुपर्ने अवस्था छ भने पुरानो ढलको राम्रो व्यवस्थापन हुन सकेको छैन । वर्षात्को समयमा हुने मुसलधारे वर्षाले गर्दा सहरका विभिन्न क्षेत्र नै डुबान हुन पुग्छ र धनजनको समेत क्षति हुन गएको अवस्था छ । यसलाई व्यवस्थापन गर्ने ।
मञ्जुश्रीले काटेको चोभार डाँडा वर्षायाममा उपत्यकाको बाहिरिने पानीको भेल थेग्न नसक्ने खतरनाक स्थितिमा पुगेको देखिन्छ । पानीको निकास राम्रोलाई हुन नसके अथवा पहिरो गए उपत्यका जलमग्न हुने र सोच्दै नसोचेको समस्या भोग्नुपर्ने पक्का छ । अविलम्ब हस्तक्षेप र विकल्पका उपाय सोच्नु ढिला भएको छ । नख्खु खोलालाई धार परिवर्तन गर्ने ।
सवारीसाधनको अस्तव्यस्त त नगरवासीले भोग्दै आएको चुनौती हो । घण्टौँ ट्राफिक जाम हुनेहुँदा त्यसको असर के हुने होला सायद बयान गर्न नपर्ला । गाडी पार्किङ अर्को टाउको दुखाइ भएको छ, खासगरी पुरानो बस्तीतिर । १८ वडाको कुरा गर्ने हो भने गाडी पार्किङ गर्ने स्थलसम्म पनि छैन । सम्बन्धित निकायको नजर पुग्न सकेको देखिँदैन र लठा लिंग देखिन्छ । ट्राफिक प्रहरी, यातायात व्यवस्थापनको लागि धेरै गाडी प्रयोग गर्ने निकाय यातायात व्यवसायी, स्कुल आदिसँग छलफल गरी योजना तयार गरी कार्यान्वयन गर्ने । शिक्षा क्षेत्रमा पनि नयाँ नीति ल्याउनुपर्ने देखिन्छ ।
पुरानो बस्ती साँगुरो बाटो÷गल्ली, पुरानो घरहरू जुन बस्नलायक भन्न सकिन्नँ । बस्नलायक घर तथा वातावरण बनाउन नसकिने होइन । सम्भाव्यता अध्ययन गरी र क्रमिकरूपमा परियोजना विकासगरी पुरानो बस्तीमा पनि बस्नयोग्य घर बनाउन सक्नुपर्यो ।
युवाहरूको पलायन हुनेमा काठमाडौं पनि अग्रंपक्तिमा पर्न आउँछ । यसबाट निम्त्याएको सामाजिक चुनौती, डरलाग्दो अनुभव परिवारजनहरूले भोग्दै आएको देखिन्छ । युवाहरूलाई रोक्ने कार्यक्रमहरू ल्याउनु प्रथम प्राथमिकतामा पर्नुपर्ने देखिन्छ । युवाहरूलाई उद्यामी बनाई आर्थिक क्रान्तिमा सहभागी गराउन सकिन्छ । युवा स्वयंसेवी कार्यक्रम सञ्चालन गर्न सकिन्छ । यी त भए केही गर्नुपर्ने र सकिने उदारणहरू ।
उल्लेखित गर्न नसकिने पक्कै होइन । यसको लागि योजना तर्जुमामा फरक सोच ल्याउन सक्नुपर्ने देखिन्छ । सहरी विकास मन्त्रालयले अरू सम्बन्धित मन्त्रालय, स्थानीय सरकारसँग समन्वय गरी फास्टट्रयाकमा योजना तर्जुमा गरी कार्यान्वयन गर्न सकिन्छ । जसले गर्दा ‘जीवन्त काठमाडौं, बस्नलायक काठमाडौं’ बनाउन सकिन्छ । उपप्रधान तथा सहरी विकासमन्त्रीको हैसियतले प्रकाशमान सिंहले यी यस्ता चुनौतीहरूको सामना गर्न र अवसरको उपयोग गर्नुहुनेमा हामी विश्वस्त छौँ ।