काठमाडौं । वीर अस्पतालमा स्तन, पाठेघर तथा सभाइकल क्यान्सरको नियमित निःशुल्क परीक्षण हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं महानगरसँगको सहकार्यमा वीर अस्पतालमा क्यान्सरको नियमित निःशुल्क परीक्षण गर्न लागेको हो ।
काठमाडौं महानगर र वीर अस्पतालबीच निःशुल्क परीक्षण गर्ने सम्झौता भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र महानगर उपप्रमुख सुनिता डंगोलको उपस्थितिमा दुवै पक्षबीच नागरिकको निःशुल्क परीक्षणसम्बन्धी सम्झौता भएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सरविरुद्ध सजगताका लागि देशैभर फागुन महिनाभर निःशुल्क परीक्षणको निर्णय गरेर कार्यान्वयनमा ल्याएका थिए । रोगको उपचारात्मक सेवामा सुधारसँगै रोग लाग्न नदिन सचेतताका लागि यो कार्यक्रम आवश्यक रहेको उनले बताए ।
‘स्वास्थ्य क्षेत्रमा तीन सरकार बेग्लाबेग्लै होइन मिलेर सहकार्य गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो’, मन्त्री पौडेलले भने, ‘मिलेर स्तन तथा पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि काठमाडौं महानगरसँगको सहकार्य हाम्रा लागि उत्कृष्ट प्रेरणा र उदाहरण हो ।’ काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलले स्तन तथा पाठेघरको मुखको क्यान्सर महिलाका लागि ठूलो समस्या बनिरहेको अवस्थामा यस सहकार्यले महिलाहरूको जीवनरक्षा हुने विश्वास व्यक्त गरिन् । निर्देशक डा दिलिप शर्माका अनुसार सबै नागरिकका लागि निःशुल्क रहने सुविधा उपलब्ध गराउन काठमाडौं महानगरले आर्थिक सहयोग गर्नेछ भने वीर अस्पतालले अंकोलोजी वार्डमार्फत जनशक्ति व्यवस्थापन गर्नेछ ।