पानी जीवनको मुख्य आधार पनि हो । जसमा भन्ने नै हो भने पृथ्वीको सतहको लगभग ७१ प्रतिशत भाग पानीले ढाकेको छ । तर यसमध्ये केवल दुई दशमलव पाँच प्रतिशत मात्र ताजा पानी रहेको अनुमान गरिएको छ । जुन मानव उपभोगका लागि उपयुक्त छ । यस ताजा पानीको ठूलो हिस्सा हिमनदीहरूमा सञ्चित छ । वस्तुतः गत चैत्र ९ गते नेपाललगायत संसारभर विश्व जल दिवस मनाइयो । जसको उद्देश्य पानीको महत्वबारे जनचेतना फैलाउनु र दिगो जल व्यवस्थापनको प्रवद्र्धन गर्नु पनि हो । यसरी सन् १९९३ देखि संयुक्त राष्ट्र संघको आह्वानमा यो दिवस मनाउन थालिएको थियो । यसको अलवा हरेक वर्ष विश्व पानी दिवसको लागि विशेष विषयवस्तु चयन गरिन्छ । जसले जलसम्बन्धी विशेष मुद्दाहरूमा ध्यान केन्द्रित गर्छ । सन् २०२५ को लागि चयन गरिएको विषयवस्तु ‘हिमनदी संरक्षण’ थियो । यो विषयवस्तुले जलवायु परिवर्तनका कारण उत्पन्न जलस्रोत समस्याहरू र तिनको संरक्षणका उपायहरूमा ध्यान केन्द्रित गर्छ । यसर्थ, हिमनदीहरू पृथ्वीको ताजा पानीको प्रमुख स्रोत हुन् । जसमा विश्वको लगभग ६९ प्रतिशत ताजा पानी हिमनदीहरूमा सञ्चित छ । यी जलाशयहरूले नदीहरूलाई निरन्तर पानी आपूर्ति गर्छन् । जसले कृषि, उद्योग र जनजीवनलाई समर्थन गर्छ । यसमा पनि नेपालजस्ता हिमाली देशहरूमा हिमनदीहरूको विशेष महत्व छ । जहाँ प्रमुख नदीजस्तै कोशी, गण्डकी, कर्णाली आदि हिमनदीहरूबाट उत्पन्न हुन्छन् ।
जलवायु परिवर्तन र जलस्रोत संरक्षण आज विश्वव्यापी चुनौती बनेको छ । जसमा भन्ने नै हो भने नेपालजस्तो हिमाली राष्ट्रका लागि यी दुईवटा विषय अत्यन्तै महत्वपूर्ण छन् । हाम्रो देशको अर्थतन्त्र, संस्कृति र जीवनशैली प्राकृतिक स्रोतहरूमा निर्भर छ । तर, जलवायु परिवर्तनले गर्दा हाम्रा हिमाल, नदीनाला र भू–जलमा नकारात्मक प्रभाव पर्दै गइरहेको छ । यसले मुलुकको जैविक विविधता, कृषि र ऊर्जा उत्पादनलाई पनि जोखिममा पारेको छ । यस अर्थमा भन्नुपर्दा जलवायु परिवर्तनको अवधारणा, यसले जलस्रोतमा पार्ने प्रभाव र संरक्षणका उपायहरूको विस्तृत विश्लेषण गर्नु आवश्यक पनि छ । यसर्थ, जलवायु परिवर्तन र जलस्रोत संरक्षण वर्तमान विश्वका गम्भीर विषयहरूमा पर्छन् । यसरी पृथ्वीको तापक्रम बढ्दै जाँदा जलचक्रमा प्रत्यक्ष असर पर्न गएको छ । जसले गर्दा नदी, ताल, कुण्ड, जलाधार, तथा भू–गर्भीय जलस्रोतहरूमा ठूलो प्रभाव परेको छ । फलतः जलवायु परिवर्तनकै कारण कतै अत्यधिक वर्षा भएर बाढीको समस्या आउँछ भने कतै खडेरी परेर पानीको अभाव हुन्छ । यस्तो अवस्थामा जलस्रोत संरक्षण अपरिहार्य बनेको छ । यसर्थ जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम वृद्धि भइरहेको छ । जसको प्रत्यक्ष असर हिमनदीहरूमा परेको छ । यसमा पनि भन्ने नै हो भने उच्च तापक्रमले हिमनदीहरूको पग्लने दर बढिरहेको छ । जसलेगर्दा समुद्री सतह वृद्धि, बाढी र पानीको अभावजस्ता समस्याहरू निम्त्याएको छ । फलतः हाम्रो देशमा पनि हिमनदीहरूको पग्लिने दर बढ्दै गएको छ । जसले भविष्यमा जलस्रोत संकटको सम्भावना बढाएको छ । यसको साथसाथै राष्ट्रमा तीन हजार आठ सयभन्दा बढी हिमतालहरू छन् । जसमा तापक्रम बढ्ने कारणले यी हिमनदीहरू पग्लिरहेका छन् । उदाहरणका लागि सगरमाथा क्षेत्रको हिमनदीले प्रतिवर्ष एक मिटरको दरले पग्लिरहेको छ । यसले नदीहरूमा पानीको बहाव अस्थिर बनाएको छ ।
जलवायु परिवर्तन विश्वव्यापीरूपमा एक जटिल र गम्भीर समस्याको रूपमा देखापरेको छ । यसले पृथ्वीको तापक्रममा वृद्धि, वर्षाको अनियमितता, हिमनदीको पग्लने प्रक्रियामा तीव्रता, समुद्री सतहमा वृद्धि, बाढी, पहिरो, खडेरीजस्ता प्राकृतिक प्रकोपहरूमा वृद्धि र जैविक विविधतामा ह्रासजस्ता नकारात्मक प्रभावहरू पारिरहेको छ । जसमा भन्ने नै हो भने जलवायु परिवर्तनको असर जलस्रोतमा पनि गम्भीररूपमा परिरहेको छ । जसलेगर्दा मानव जीवन र वातावरणमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । त्यसैगरी नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको देश हो । यहाँको भौगोलिक अवस्था, आर्थिक निर्भरता र कमजोर पूर्वाधारले जलवायु परिवर्तनको असरलाई अझ बढाएको छ । जुन देशमा जलवायु परिवर्तनको कारणले हिमनदीहरू पग्लिरहेका छन् । जबकि वर्षाको ढाँचामा परिवर्तन आएको छ, बाढी, पहिरो र खडेरीजस्ता प्राकृतिक प्रकोपहरू बढिरहेका छन् । यी सबै प्रभावहरूले राष्ट्रको जलस्रोतलाई गम्भीररूपमा प्रभावित गरिरहेका छन् ।
जलवायु परिवर्तनको परिभाषा र कारणहरू
जलवायु परिवर्तन भन्नाले पृथ्वीको औसत तापमान, वायुमण्डलीय अवस्था तथा मौसमी प्रणालीमा दीर्घकालीन परिवर्तन हुनु बुझिन्छ । यसका प्रमुख कारणहरू निम्नानुसार छन्ः
ग्रिनहाउस ग्यास उत्सर्जनः कार्बनडाइअक्साइड (सीओटु), मिथेन (सीएचफोर), नाइट्रस अक्साइड (एनटुओ)जस्ता ग्यासहरू वायुमण्डलमा वृद्धि हुँदा पृथ्वीको तापक्रम बढ्छ ।
वनविनाशः वृक्षहरूले वातावरणको तापमान नियन्त्रण गर्न मद्दत गर्छन् । तर, तीव्र वन विनासका कारण कार्बन डाइअक्साइडको सोस्ने क्षमता कम हुँदै गएको छ ।
उद्योगीकरण र सहरीकरणः उद्योगहरूबाट निस्कने धुवाँ र कचरा वातावरणीय प्रदूषणको प्रमुख स्रोत हो ।
जैविक इन्धनको प्रयोगः पेट्रोल, डिजेल, कोइला, ग्यासजस्ता जीवाश्म इन्धनको अत्यधिक प्रयोगले वायुमण्डलीय तापक्रम वृद्धि गर्छ ।
कृषि गतिविधिः अत्यधिक रासायनिक मल तथा कीटनाशकको प्रयोगले माटो तथा जलस्रोत दूषित पार्ने मात्र नभई जलवायुमा पनि असर पार्छ ।
जलवायु परिवर्तनका प्रभावहरू
जलवायु परिवर्तनका असरहरू विश्वभरि विभिन्न तरिकाले देखिन थालेका छन् ।
तापक्रम वृद्धिः पृथ्वीको औसत तापमान बढ्दै जानुका कारण हिउँ पग्लिने, समुद्री सतह बढ्ने र खडेरी पर्ने समस्या बढ्दै गएको छ ।
अत्यधिक वर्षा र बाढीः कतिपय क्षेत्रमा असामान्य वर्षाले बाढी, पहिरो, तथा जमिन कटानको समस्या निम्त्याउँछ ।
जलस्रोतको असन्तुलनः कतै पानीको मात्रा अत्यधिक हुने त कतै अभाव हुने समस्या देखिन थालेको छ ।
जैविक विविधतामा असरः जलवायु परिवर्तनका कारण वनस्पति तथा जीवजन्तुको अस्तित्व संकटमा पर्दै गएको छ ।
खाद्य संकटः कृषि उत्पादन प्रभावित हुँदा खाद्यान्न अभाव हुन सक्छ ।
जलस्रोतको महत्व
जलस्रोत मानव जीवनको आधारशिला पनि हो । यसमा पनि कृषि, उद्योग, ऊर्जा उत्पादन, स्वास्थ्य, वातावरण, तथा जैविक विविधताको संरक्षणका लागि जलस्रोत अत्यावश्यक छ । तर, असन्तुलित दोहन, प्रदूषण तथा अव्यवस्थित व्यवस्थापनका कारण जलस्रोत संकटमा पर्दै गएको छ ।
जलस्रोत संरक्षणका उपायहरू
जलस्रोत संरक्षणका लागि विभिन्न उपाय अवलम्बन गर्न सकिन्छः
वृक्षारोपणः वन क्षेत्रको विस्तारले पानीको भण्डारण गर्न र भू–क्षय रोक्न मद्दत गर्छ ।
वर्षा जल संकलनः पानीको सतही संकलन तथा भण्डारण गर्न सकिने प्रणाली अपनाएर भूगर्भीय जल पुनः भरण गर्न सकिन्छ ।
सिँचाइ प्रणाली सुधारः पानी बचत गर्ने प्रविधि (जस्तै, ड्रिप इरिगेसन, स्प्रिंकलर सिस्टम)को प्रयोगले जल अपव्यय रोक्न सकिन्छ ।
जल प्रदूषण नियन्त्रणः उद्योग तथा घरायसी फोहोर पानी प्रशोधन गरी मात्र खोलानाला वा जलाशयमा पठाउनुपर्छ ।
सरकारी नीति तथा योजनाः जल व्यवस्थापनका लागि सरकार तथा गैरसरकारी संस्थाहरूले दीर्घकालीन योजना बनाउनुपर्छ ।
सजगता र शिक्षाः जनतामा जलस्रोत संरक्षणका बारेमा जनचेतना फैलाउनुपर्छ ।
निष्कर्षमा भन्नुपर्दा जलवायु परिवर्तन र जलस्रोत संरक्षण नेपालको अस्तित्वका लागि गहन विषय बनेका छन् । यसलाई समाधान गर्न सरकार, समुदाय र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ । अतः हामीले आफ्नो संस्कृति र प्रविधिलाई एकीकृत गरी स्थायी उपायहरू खोज्नुपर्छ । जसमा भन्ने नै हो भने जलवायु परिवर्तन र जलस्रोत संरक्षण आपसमा गहिरोरूपमा सम्बन्धित छन् । यदि जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न सकिएन भने जलस्रोत संकट गहिरिँदै जान्छ । त्यसैले, वैज्ञानिक प्रविधि, नीतिगत सुधार र व्यक्तिगत जिम्मेवारीलाई ध्यानमा राखेर जलस्रोत संरक्षणका उपायहरू अवलम्बन गर्नुपर्छ । मूलतः जलस्रोतको दिगो व्यवस्थापनले मात्रै भावी पुस्ताका लागि सुरक्षित जल आपूर्ति सुनिश्चित गर्न सकिन्छ ।