काठमाडौं । हुन्डाई क्रेटा ईभी र मेड इन नेपाल क्रेटा आइस नेपालमा सार्वजनिक गरिएको छ । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले राजधानीमा एक कार्यक्रमको आयोजना गरी क्रेटा ईभी र क्रेटा आइस सार्वजनिक गरेको हो ।
कम्पनीले क्रेटा ईभीको प्रारम्भिक मूल्य ५१ लाख ९६ हजार रुपैयाँ र क्रेटा आइसको प्रारम्भिक मूल्य ५३ लाख ९६ हजार रुपैयाँ तोकेको छ । कम्पनीका अनुसार २०२५ मा आयात गरिने आइस मोडलहरूको मूल्यमा तुलना गर्दा नौ लाख सम्म कम रहेको छ । कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते यङको विशेष उपस्थिति रहेको थियो । हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको थियो । नेपाली बजारमा पहिलेदेखि नै आईसीई संस्करणको हुन्डाई क्रेटा लोकप्रिय रहेको छ । हुन्डाईका अन्य ईभी समेत चर्चित बनिरहेको समयमा क्रेटा ईभीलाई समेत धेरैले मन पराउने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार क्रेटा ईभी ४२ किलोवाट ब्याट्री विकल्पमा उपलब्ध रहेको छ । ४२ किलोवाट ब्याट्रीले तीन सय ९० किलोमिटर रेन्ज प्रदान गर्न सक्षम छ । ब्याट्री डीसी फास्ट चार्जिङमार्फत १० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन ५८ मिनेट मात्र लाग्ने बताइएको छ । यसलाई ११ किलोवाट एसी चार्जरले १० प्रतिशतदेखि एक सय प्रतिशतसम्म चार्ज गर्न चार घन्टा लाग्छ ।