काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले आगामी वर्षहरूमा जन्मदर घट्दै जाने प्रक्षेपण गरेको छ । जसका कारण जनसंख्या वृद्धिदर न्यून रहने जनाएको छ । कार्यालयले मंगलबार राष्ट्रिय जनगणना २०७८ का पाँचवटा विषयगत प्रतिवेदन सार्वजनिक गर्दै उक्त कुरा बताएको हो । प्रजनन स्थिति, आन्तरिक बसाइँसराइ, अन्तर्राष्ट्रिय बसाइँसराइ, जानसांख्यिक लाभांश र नेपालको जनसंख्या गरी पाँचवटा विषयको प्रतिवेदन सार्वजनिक गरेको हो ।
अबको २७ वर्षपछि विसं २१०८ सम्म नेपालको जनसंख्या तीन करोड ३५ लाख पुग्ने प्रक्षेपण कार्यालयको छ । जसको औसत वार्षिक वृद्धिदर शून्य दशमलव ३५ प्रतिशतदेखि शून्य दशमलव ५५ प्रतिशतसम्म रहनेछ । साथै उच्च परिदृश्यमा जनसंख्या तीन करोड ४४ लाखसम्म पुग्ने प्रक्षेपण पनि गरेको छ । जसको औसत वार्षिक वृद्धिदर शून्य दशमलव ३९ प्रतिशतदेखि शून्य दशमलव ६४ प्रतिशत रहनेछ ।
न्यून परिदृश्यअनुसार जनसंख्या तीन करोड चार लाख पुग्नेछ । जसको औसत वार्षिक वृद्धिदर शून्य दशमलव २९ प्रतिशतदेखि शून्य दशमलव ५३ प्रतिशतसम्म रहेनछ । विसं २०७८ को जनगणनाअनुरूप नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको छ ।
मध्यम परिदृश्यमा प्रगतिउन्मुख नेपाल निर्माण हुने बताइएको छ । जसमा औसत आशावादी प्रक्षेपणअनुसार नेपाल अहिलेकै विकासपथमा क्रमशः स्वास्थ्य सेवा, शैक्षिक स्थिति, पूर्वाधार निर्माण तथा आर्थिक अवसरको अवस्था उपलब्ध गराउँदै अगाडि बढ्नेछ । जन्मदर (प्रजनन) घट्दै जानेछ, जीवनप्रत्याशामा (आयु) सुधार हुनेछ र बसाइँसराइको क्रम यस्तै नै रही सहरीकरण हुँदै जानेछ । यसको परिणाम ग्रामीण क्षेत्रमा खाली घरहरूको संख्या वृद्धि हुने उल्लेख गरिएको छ ।
उच्चतम परिदृश्यमा समृद्ध र दिगो नेपालको निर्माण हुने बताइएको छ । जसमा तीव्र सामाजिक आर्थिक विकास, प्रविधिमा छलाङ मार्ने सम्भावना, पूर्वाधारमा तीव्र विकास, सहरीकरणमा वृद्धि र आर्थिक सम्पन्नताले महिला सशक्तीकरण, स्वास्थ्य सेवा तथा शैक्षिक स्तर वृद्धि हुँदै जन्मदरमा तीव्र कमी आउनेछ । ग्रामीण सहरी सम्पर्क सहज हुनाले आन्तरिक बसाइँसराइमा स्थिरता आउनेछ ।
न्यून परिदृश्यमा अतिकम विकसित यथावत् नेपाल निर्माण हुने बताइएको छ । जसमा युवाको विदेश प्रवासन यथावत् रहने, कमजोर आर्थिक वृद्धि, वृद्ध जनसंख्यामा क्रमिक वृद्धि आदिले जन्मदरमा अस्थिरता, आश्रित वृद्ध जनसंख्यामा वृद्धि, बसाइँसराइको प्रवृत्ति झन् खराब हुने तथा देश विप्रेषणमा थप निर्भर हुने र श्रमशक्ति निर्यातको स्थिति झन् खराब हुने उल्लेख गरिएको छ ।
वैकल्पिक मध्यम परिदृश्यमा बाह्य विश्वजनित झड्काको प्रभाव, जलवायु परिवर्तन, भू–राजनीतिक स्थितिमा परिवर्तन, सामाजिक रूपान्तरण, उल्टो बसाइँसराइ (साबिक थलोमा फर्किने अवस्था) प्रवृत्तिको प्रारम्भ, आर्थिक विविधीकरण र नवीनताले प्रभावित आर्थिक वृद्धिको अवस्था सिर्जना हुने बताइएको छ ।
उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार आगामी दिनमा नेपालको जनसांख्यिक गतिशीलता र परिदृश्यको बारेमा सरकारी निकाय (मन्त्रालय, विभाग, प्रादेशिक कार्यालय तथा स्थानीय तह)का पदाधिकारीहरू, विज्ञ तथा प्राज्ञिक समुदायसँग समेत गरिएको अन्तरक्रियाको आधारमा भविष्यको जनसांख्यिक परिदृश्यको परिकल्पना गरिएको हो ।
कार्यालयका अधिकारीहरूले प्रजननदरमा आउने कमी, बच्चा पाउने उमेर ढिला हुँदा जनसंख्या वृद्धि प्रभावित हुने बताएका हुन् । प्रतिवेदनअनुरूप प्रजननदरमा कमी आउनेमा विशेषतः उमेर समूहअनुसारको प्रजननदरमा आउने कमीले वास्तवमा बच्चा पाउने उमेर ढिलो हुँदै जाने देखिन्छ । जन्मको समयमा हुने लैङ्गिक अनुपात एक सय १३ बाट विस २०८८ सालमा एक सय १९ मा बढ्ने देखिन्छ । त्यसपछि क्रमशः कमी आएर एक सय तीनबाट विसं २१०८ मा एक सय सातमा लगभग स्थिर रहने देखिन्छ । मध्यम परिदृश्यअनुसार विसं २०७८ को पाँच लाख २७ हजारको जन्म संख्याबाट विसं २१०८ मा तीन लाख ६८ हजारमा ओरालो लाग्दै करिब ३० दशमलव दुई प्रतिशतले कमी आउने देखिन्छ ।
सबैभन्दा बढी बच्चा पाउने उमेर २५ हुने देखिन्छ । कुल प्रजननदर एक दशमलव ७२ रहने र बच्चा पाउने सरदर उमेर २९ दशमलव दुई वर्ष रहने देखिन्छ । उच्च परिदृश्यअनुसार विसं २१०८ मा जन्म संख्यामा करिब ३१ दशमलव सात प्रतिशतले कमी आउने देखिन्छ जसले एक दशमलव ६४ मा ओरालो लाग्ने र बच्चा पाउने औसत उमेर विसं २१०८ मा २९ दशमलव एक वर्ष रहने देखिन्छ । यस्तै न्यून परिदृश्य अनुसार जनसंख्या विसं २१०८ सम्ममा ४४ दशमलव एक प्रतिशतले कमी आउने, कुल प्रजननदर एक दशमलव ५२ मा झर्ने र बच्चा पाउने औसत उमेर २९ वर्ष पुग्नेछ ।
प्रतिवेदनले मृत्युको प्रवृत्ति प्रक्षेपण गरिएअनुसार सुधार हुँदै महिला पुरुष दुवैको आयु लामो हुनेछ । निसन्देह लैङ्गिक अन्तर कायम रही पुरुषको आयु महिलाको भन्दा छोटो हुनेछ । तीनवटै परिदृश्यअनुसार मृत्युको संख्या बढ्दै जानेछ । विशेषतः ७० वर्ष नाघेका वृद्धसंख्याको मध्यम परिदृश्यअनुसार विसं २१०८ मा तीन लाख छ हजारको मृत्यु हुनेछ । न्यून परिदृश्यअनुसार तीन लाख ३६ हजार र उच्च परिदृश्यअनुसार ७५ हजारको मृत्यु हुनेछ । सबै परिदृश्यअनुसार जीवनप्रत्याशा वा औसत आयु बढ्ने देखिन्छ । मध्यम परिदृश्यअनुसार विसं २१०८ मा औसत आयु ७७ वर्ष पुग्नेछ । उच्च परिदृश्यअनुसार औसत आयु ७९ दशमलव पाँच वर्ष र न्यून परिदृश्यअनुसार औसत आयु ७४ दशमलव चार वर्ष पुग्नेछ ।
मध्यम परिदृश्यअनुसार विसं २१०८ मा शिशु मृत्युदर (आएमआर) सात दशमलव तीन जना प्रतिहजार जीवित जन्ममा झर्ने देखिन्छ । बाल मृत्युदर (१–४ वर्ष) एक दशमलव सात जना प्रतिहजार बच्चामा र पाँच वर्षमुनिका बच्चाहरूको मृत्युदर आठ दशमलव नौ जना (प्रतिहजार जीवित जन्म)मा झर्ने देखिन्छ ।
विदेश जानेको संख्या घट्ने
प्रतिवेदनलले विसं २१०८ मा विदेश जानको संख्यामा कमी आउने बताएको छ । जनगणनाको तथ्याङ्कले २०–४० उमेर समूहका युवा विदेश जानेमा अधिक रहेको देखिन्छ । मध्यम परिदृश्यअनुसार विसं २०८८ मा प्रवासनमा जाने सो उमेर समूहको जनसंख्या उच्चतम अर्थात् ६१ हजार हुने देखिन्छ र त्यसपछि विसं २१०८ मा ४९ हजारमा झर्ने प्रतिवेदनले जनाएको छ । उच्च परिदृश्यअनुसार २०८८ मा सो संख्या ६८ हजार र विसं २१०८ मा ५७ हजार पुग्ने देखिन्छ । न्यून परिदृश्यअनुसार विसं २१०८ मा ६९ हजार पुग्नेछ जसमा महिलाको संख्या अधिक हुनेछ । साथै प्रदेशहरूबाट हुने प्रवासनको प्रक्षेपणअनुसार बागमतीमा २१ हाजर सात सय ६६ जना, कोशी सात हजार आठ सय ३८ जना र गण्डकी सात हजार ९८ जना अगाडि पर्ने देखिन्छ जब कि मधेस, कर्णाली र सुदूरपश्चिमबाट तुलनात्मक रूपमा कम हुने बताइएको छ ।