काठमाडौं । नेपालमा पहिलो एल्युमिनियम रड उत्पादन उद्योगको सुरुवात गरेको छ । लिट्मस इन्डस्ट्रिज लिमिटेडले ‘लिट्मस २.०’ अन्तर्गत एल्युमिनियम रड उत्पादन उद्योगको औपचारिक सुरुवात गरेको हो ।
नवलपरासीको रामग्राम हकुईमा अवस्थित यस उद्योगले नेपाली बजारमा हुने एल्युमिनियम आयात प्रतिस्थापन तथा न्यूनीकरण गर्दै उत्पादनमा आत्मनिर्भरतामा लैजाने विश्वास गरिएको छ । उक्त उद्योगको बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले उद्घाटन गरेका हुन् । हाल नेपालमा तार, केबल र कन्डक्टर निर्माणमा प्रयोग हुने एल्युमिनियम रड आयातमार्फत पूर्ति हुँदै आएको छ । यस प्लान्टको सञ्चालनले एल्युमिनियम रडको आयात परनिर्भरतालाई उल्लेख्यरूपमा घटाउनुका साथै देशभित्रै उच्च गुणस्तरको एल्युमिनियम रडको नियमित आपूर्ति प्रत्याभूत गर्नेछ । एल्युमिनियम रडको स्वदेशमै उत्पादन गरेर, लिट्मस इन्डस्ट्रिजले नेपालले व्यहोरिरहेको व्यापार घाटा केही मात्रा भए पनि न्यूनीकरण गर्ने उद्देश्यका साथै सरकारी राजस्व बचतबाट राष्ट्रिय अर्थतन्त्रमा हुने हितलाई पनि ध्यानमा राखेको छ ।
आर्थिक पक्षसँगै, यस परियोजनाले उत्पादन, ढुवानी र बिक्रीलगायतका क्षेत्रमा सयौँ प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्नेछ । लिट्मसले प्राविधिक ज्ञान अभिवृद्धि गर्ने तालिम तथा दक्ष जनशक्ति विकास कार्यक्रम पनि अघि सारेको छ, जसले दीर्घकालीन औद्योगिक विकासमा टेवा पुर्याउनेछ । नेपालको पहिलो एल्युमिनियम रड उत्पादन कम्पनीको सुरुवात हुनु कम्पनीको लागि मात्रै नभई देशको समग्र उत्पादन क्षेत्रकै लागि एउटा ठूलो कोशेढुङ्गा र रणनीतिक फड्को भएको बताइएको छ । यस परियोजनाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै देशमा आन्तरिक र बाह्य लगानी आकर्षित गर्ने अपेक्षा गरिएको छ । कच्चा पदार्थमा स्थानीयरूपमा मूल्य संवर्द्धन गर्दै जाने यो दृष्टिकोण सरकारले लिएको आत्मनिर्भर औद्योगिक विकासको मार्गचित्रसँग मेल खाने जनाइएको छ ।