काठमाडौं । वृज हिमालयन स्प्रिङ प्राइभेट लिमिटेडले एनएमबी क्यापिटल लिमिटेडसँग संस्थागत परामर्श कार्यका लागि संस्थागत परामर्शदाताका रूपमा नियुक्त गरेको छ ।
वृज हिमालयन स्प्रिङ शुद्ध पिउने पानी उद्योग सञ्चालन गरी नेपाली उद्यमशीलतामा नयाँ आयाम थप्ने उद्देश्यले स्थापित कम्पनी हो । वृज हिमालयन स्प्रिङले प्रिमियम पिउने पानी उद्योगमा सञ्चालनका लागि एनएमबी क्यापिटलको परामर्श सेवाहरू लिने जनाएको छ । कम्पनीका अनुसार एनएमबी क्यापिटलले पुँजी पुनः संरचना तथा वित्तीय परामर्श सेवालगायत विभिन्न रणनीतिक साझेदार भित्र्याउने सिलसिलामा चाहिने परामर्श सेवा कम्पनीलाई दिई व्यवसायलाई थप विस्तार गर्न सहयोग गर्नेछ ।
हाल यस कम्पनीले ‘पूर्ण’ ब्रान्डमा एक लिमिटेड, पाँच सय मिलि, दुई सय ५० मिलिको बोतलमा मिनरल पानी तथा २० लिमिटेडको जारमा शुद्ध प्रशोधित पानी उत्पादन गरिरहेको छ । केडिया अर्गनाइजेसनको नयाँ परियोजनाको रूपमा वृज हिमालयन स्प्रिङ प्राइभेट लिमिटेडले पिउने पानी उद्योगमा नयाँ पहिचान बनाउने लक्ष्य लिएको छ । मनोज केडियाको नेतृत्वमा रहेको केडिया अर्गनाइजेसनले विगतमा वित्तीय, बीमा, उत्पादनमूलक उद्योगसहित विभिन्न व्यवसाय सफलतापूर्वक सञ्चालन गरी सेयरधनीलाई उच्चतम प्रतिफल प्रदान गर्न सफल रहेको छ ।