ठूलो जनआन्दोलनले सत्ताच्यूत गरेका ज्ञानेन्द्रलाई फेरि राजा बनाउन अर्को जनआन्दोलन गर्न भनेर पूर्वपञ्चलाई संयोजक बनाइएको छ, जसले ‘हप्तावारी’ असुल गर्ने व्यक्ति भनेर परिचय गराएका छन् । उनले लेखेका कुरालाई आधार मान्ने हो भने पञ्चायतको ३० वर्षे निरङ्कुशकालमा राज्यमा भ्रष्टाचारका जे–जस्ता काण्डहरूमार्फत लुटपाट मच्चाइयो, त्यसका नाइके यिनै ज्ञानेन्द्र थिए ।
राजाले स्वेच्छाले छाडेका हुन् ?
पूर्वमहापञ्च भनेर चिनिने नवराज सुवेदीले गएको चैत ४ मा आफूलाई पूर्वराजाले राजा फर्काउने संयुक्त जनआन्दोलन समितिको संयोजक बनाएको भनेर राजावादीहरूको एउटा भेलामा बताएका थिए । यो भेलाले सुवेदीमार्फत राखिएको उक्त आन्दोलनको प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरेको थियो ।
समितिका तर्फबाट भन्दै त्यस दिन चारवटा विषय प्रस्तुत भएका थिए । त्यसमा वैधानिक राजसंस्थाको पुनस्र्थापना, सनातन हिन्दू अधिराज्यको पुनस्र्थापना, संघीयता खारेजी र भ्रष्टाचार नियन्त्रण र सुशासनको स्थापना गर्ने ।
पूर्वराजाले प्रजातन्त्र दिवसका अवसरमा दिएका सन्देश र यी महापञ्चले आफ्नो प्रतिबद्धतामा उल्लेख गरेका कुरा वैधानिक राजसंस्थाले गर्नै सक्तैन । यो बुझिनेगरी ढाँटिएको कुरा हो ।
यो प्रतिबद्धताको पहिलो बुँदामा नै धेरै कुरा ढाँटेर, छलेर र देश र दुनियाँमा भ्रम पार्न खोजिएको छ । तर, यता भनिएको छ, बेथिति र कुशासनविरुद्ध कदम चाल्न खोजिएको हो । यसमा पूर्वराजालाई जसरी परिचय गराउन खोजिएको छ, स्वयम यी संयोजक सुवेदीले लेखेका पञ्चायतकालीन ब्रह्लुटको विवरण बताउने आत्मवृतान्तलाई आधार मानिँदा फेरि देशमा यिनै ज्ञानेन्द्र र पूर्वपञ्चहरू मिलेर देश लुट्न यो अभियान थालेको हो कि भन्नुपर्ने हुन्छ । संयुक्त जनआन्दोलन समितिको प्रतिबद्धताको पहिलो बुँदामा नै भनिएको छ –
क) लोकसम्मतिलाई सम्मान एवं स्वीकार गर्ने नेपाली राजसंस्थाको धर्म, कर्तव्य र परम्परालाई आत्मसात् गर्दै श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट सहजताका साथ विना कुनै प्रश्न र प्रतिरोध नेपाली इतिहास, गौरव र एकताको प्रतीक राजमुकुटलाई जनताको नासोको रूपमा नेपाली जनतालाई सुम्पेर नारायणहिटीबाट बाहिरीबक्सेको थियो ।
राजसंस्था अनुपस्थित रहेको करिब दुई दशकको यो अवधिमा नेपालको आन्तरिक अवस्था, बाह्य छवि र प्रभाव कस्तो छ ? जगजाहेर नै छ । राष्ट्रियता संकटमा छ । बदलिँदो भूराजनीतिक संवेदनशीलता बुझ्न नेताहरू पूर्णतः असमर्थ भएका छन् । कूशासन व्याप्त छ । जनतामा व्यापक नैराश्यता छ । प्रमुख दलका नेताप्रतिको अविश्वास, आक्रोश र घृणा एकैसाथ चुलिएको छ । यो अवस्था र परिस्थितिलाई लामो समय कायम रहन दिँदा राष्ट्र अस्तित्वको संकट उन्मुख हुनसक्छ । र काबुबाहिरको परिस्थिति आउन सक्छ ।’
संविधान, राजा च्यात्ने पञ्च माग्ने
यो प्रतिबद्धताको मुख्य माग हो २०४७ सालको संविधान बिउताउनु । तर अहिले बिउत्याउन माग भएको यो संविधानलाई यिनै ज्ञानेन्द्रले आजभन्दा २२ वर्षअघि नै च्यातच्युत पारेका थिए । जुन संविधानबाट उनी राजा बने त्यही संविधानलाई उनले गद्दी प्राप्त भएको १६औँ महिनामै च्याते । २०५९ असौज १८ र २०६१ माघ १९ का दुईवटा घटना यसका उदाहरण हुनुपर्छ । यी वर्ष तत्कालीन राजाले जे गरेका थिए त्यो काम यो संविधानअनुसार भएको थिएन । सर्वोच्च अदालतले नै त्यसबेला राजाले गरेका यी काम खारेज भइसकेको २०१९ सालको संविधानअनुसार गरिएको भनेर व्याख्या गरेको छ । तर, यता पञ्चहरूको संयुक्त जनआन्दोलनको प्रतिबद्धतापत्रमा भने २०४७ सालको संविधानअनुसार राजा चल्ने भनिएको छ । त्यसको एउटा बुँदा –
घ) नेपालको परिप्रेक्षमा राजनीतिक दलहरूलाई न्यूनीकरण गरेर वा राजसंस्थालाई निषेध गरेर देशको हित नहुने रहेछ भन्ने प्रस्ट भइसकेको छ । तसर्थ, २०४७ सालको संविधानलाई आधार मानेर, २०७२ सालको संविधानका सकारात्मक प्रावधानहरूलाई समेट्दै प्रमुख राजनीतिक पक्षहरूबीच सर्वपक्षीय सम्मेलनमार्फत देश शान्तिपूर्णरूपमा नवीन समझदारीमा जाओस् भन्ने सम्पूर्ण राष्ट्रवादी(राजसंस्थावादीहरूको चाहाना हो ।
नवीन समझदारी त्यस्तो अवधारणा हो, जहाँ देशको शान्ति, स्थिरता, सामाजिक सौहार्दता, धर्म(संस्कृति, परम्परा, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको प्रतिककारूपमा राजसंस्था अनि नियमित राज्य सञ्चालनका लागि राजनीति दलहरू दुवै अटाउन सकून् ।’
यो प्रतिबद्धतामा राजालाई पुनस्र्थापन गराउने यो काम पूर्वराजकै आह्वानमा गर्न लागिएको पनि बताइएको छ । यसबारे भनिएको छ –
‘विद्यमान दुरुह अवस्थाबाट राष्ट्र र जनतालाई उन्मुक्ति दिलाउने अभिप्रायले श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट गत फागुन ७ गते सहयोगको निमित्त देशवासीको नाममा भएको आह्वान सर्वविदित नै छ ।’
हप्तावारी असुल्ने व्यक्ति
यसको अर्थ हो अब पूर्वराजा पुनस्र्थापित हुन आफैँ सडकमा उत्रिए । तर उनको विगत भने पुनस्र्थापना होइन उनीमाथि अनुसान्धान भएर कारबाही चलाउने खालका छन् । यो कुनै आरोप होइन । उनले आफूलाई पुनस्र्थापित गराउने अभियानका कमान्डर बनाएका, पञ्चायतमा सुरुदेखि अन्तिमसम्म नै विभिन्न उच्च ओहोदामा रहेका पात्र नवराजको आत्मवृतान्तले नै यस्तो बुझाउँछ ।
सुवेदीले केहीअघि प्रकाशन गरेका आत्मकथा ‘इतिहासको एक कालखण्ड’ नामक पुस्तकमा स्विट्जरल्याण्डको विश्वविख्यात घडी ओमेगाले त्यही बेला नेपालमा उद्योग खोल्न खोजेको तर ज्ञानेन्द्रले आधा सेयर मागेपछि ओमेगाको आगमन रोकिएको भनेर खुलासा गरेको छन् ।
स्विट्जरल्याण्डको यो घडी निर्माण गर्ने कम्पनी ओमेगाको २०२२ को को वार्षिक कारोबार आठ अर्ब डलरको थियो । यो भनेको झण्डै १०–१२ खर्ब रुपैयाँको कारोबार हो । यस्तो कारोबार गर्ने उद्योग नेपालमा पनि खुल्न सकेको भए सानो उपलब्धि हुने थिएन । तर, यिनै ज्ञानेन्द्रले सित्यैमा पूरै आधाभाग सेयर खोजेका कारण रोकिएर राष्ट्रले ठूलो क्षति बेहोर्नुपरेको भनेर त यिनै सुवेदीले लेखेका हुन् । सुवेदीको पुस्तकको त्यो अंश :
‘२०२५ सालको सुरुमा म गृहराज्यमन्त्री नै थिएँ । मलाई गर्दनको हाड खिइने रोग (स्पोन्डोलाइटिस)ले समात्यो । निकै दुःख पाएँ । सरकारबाट उपचार गर्न दिल्ली पठाइबक्स्यो । अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा भर्ना भएँ । श्रीमती मीरा र म दुई जना थियौँ । राजदूतावासबाट राम्रै हेरचाह भएको थियो तर अपर्झट प्रधानमन्त्री सूर्यबहादुरजीको राजीनामा आयो । मन्त्रिपरिषद् विघटन भयो । आफू पनि मन्त्रीबाट हटेँ । अर्को मन्त्रिपरिषद् बन्न करिब एक हप्ता ढिलो भयो । राजदूतावासबाट पनि हेरचाह हुन छोड्यो । पाँच÷छ दिनपछि श्री गेहेन्द्रबहादुर राजभण्डारीको फोन आयो । उहाँको भनाइ थियो, ‘नवराजजीलाई सोध्नु भन्ने हुकुम भएको छ, तपाईँ व्यापार गर्ने कि नगर्ने ?’ मैले बुझेँ– सरकारबाट उद्योग वाणिज्यमन्त्री बक्सन लाग्यो । जे निगाहा हुन्छ मलाई मन्जुर छ भनी जवाफ दिएँ । कीर्तिनिधि विष्टको प्रधानमन्त्रित्वमा भोलिपल्ट मन्त्रिमण्डल बन्यो । म उद्योग वाणिज्यमन्त्री भएँ ।
दिल्लीबाट फर्कन करिब तीन हप्ता लाग्यो । काठमाडौं पुगेको भोलिपल्टै श्री ५ बाट बेलुका दर्शनभेट बक्स्यो । सरकारबाट हुकुम भयो, ‘नवराज, तिमीलाई इमानदारितासँग काम गर्छौँ भन्ने विश्वासमा यो मन्त्रालय दिएँ । लामो समय तिमीले यसै मन्त्रालयमा काम गर्नुपर्छ । मेरो परिवारको दबाब आउन सक्छ । डर नमानी काम गर । तिमीलाई अप्ठ्यारो परे मलाई खबर गर्नू । तिमीले नै भारतसँग व्यापार तथा पारवहनसन्धि गर्नुपर्छ । हुन पनि यो मन्त्रालयमा करिब तीन वर्षभन्दा बढी मैले काम गरेँ । कसैको दबाबमा पनि आइनँ । मलाई कुनै दिन पनि प्रधानमन्त्रीले यो गरिदे भन्नुभएन । कीर्तिबाबुसँग काम गर्न साह्रै सजिलो थियो । कुनै कुरा सोधेमा पनि आफैँ निर्णय गर्नुस्, मसरहको साथी म के भनु भन्नुहुन्थ्यो ।’
श्री ५ अधिराजकुमार हिमालय, वसुन्धरा र श्री ५ अधिराजकुमारी हेलेन तीनै जना व्यापारमा हुँदा उहाँहरूबाट भने बराबर दबाब आउँथ्यो । पछि श्री ५ अधिराजकुमार ज्ञानेन्द्र पनि थप होइबक्स्यो । राजा केही पनि नदे भन्ने तर उहाँहरूलाई पूर्ण सहुलियत चाहिने । यस्तो विषम परिस्थितिमा मैले काम गर्नुपर्यो । एक दिन साँझ श्री ५ बाट बोलाइबक्स्यो । त्यहाँ प्रधानमन्त्री पनि हुनुहुँदो रहेछ । कुरा चल्दै गयो । राजाबाट हुकुम भयो, ‘मेरा भाइ–छोराहरूलाई व्यापार गर्नु छ, सबै यिनलाई दिए जनताका छोराहरूले के गर्ने ? मैले एक–एक उद्योग गर भनेर दिएकै छु । अब अरु दिनुपर्दैन । कीर्तिनिधि, नवराजलाई बढी ‘प्रेसर’ (दबाब) भयो, तिमीले भन्दिनू ।’ यो कुरा प्रधानमन्त्रीले भन्नुभयो कि भएन थाहा पाइनँ तर त्यसपछि मलाई दबाब आएन । तर उहाँहरू पार्टीहरूमा भेट हुँदा पनि मसँग बोल्नुहुन्नथ्यो । श्री ५ ज्ञानेन्द्रसँग मेरो सम्बन्ध सुरुदेखि नै राम्रो भएन । पछि श्री ५ होइबक्सँदा पनि मसँग राम्रो व्यवहार हुन सकेन । यसका मुख्य दुई कारण छन्– प्रथमतः २०३८ सालमा सूर्यबहादुरजीको विरोधमा प्रधानमन्त्रीको उम्मेदवार नहुनु र दोस्रोमा ओमेगा (घडी) कारखाना थियो । ओमेगा वाचले नेपालमा एक कारखाना खोल्न पाऊँ भनी प्रस्ताव पठायो । कुरा राम्रो थियो । अतः विश्व बैंकको वार्षिक साधारणसभाको मिटिङबाट फर्कँदा जेनेभा गई ओमेगा फ्याक्ट्री हेर्नु र कुरा पनि गर्नु भन्ने श्री ५ महेन्द्रबाट निर्देशन बक्स्यो ।
वासिङ्टनबाट फर्कँदा म, भेषबहादुरजी र डा. पुष्करनाथ पन्त हामी तीन जनाले ओमेगा फ्याक्ट्री पनि हेर्यौं र नेपालमा फ्याक्ट्री खोल्नेबारे कुरा पनि गर्यौं । उनीहरूको एउटै मात्र सर्त हामी सरकार या प्राइभेट कसैसँग पनि साझेदारीमा काम गर्दैनौँ भन्ने थियो । यो सर्त मन्जुर हुन्छ भने एक वर्षभित्र फ्याक्ट्री चालू गर्छौँ भन्ने उनीहरूको भनाइ थियो । हामीहरूले ओमेगाजस्तो कम्पनी आउँछ भने किन नदिने भनी मन्जुर दियौँ । तर, काठमाडौं आएपछि श्री ५ अधिराजकुमार ज्ञानेन्द्रलाई त्यसमा आधा सेयर (अंश) चाहियो जुन कुरा मैले ठाडै इन्कार गरेँ । यसै कारण नेपालमा ओमेगा पनि आउन सकेन । ज्ञानेन्द्र सरकार पनि मसँग रिसाइबक्स्यो । जे होस्, दरबारमा प्रधानमन्त्री र मेरोबीचमा सरकारबाट बक्सेको निर्देशनले मलाई काम गर्न सजिलो भयो ।’
आज पनि जीवन्त रहेको प्रश्न हो तत्कालीन श्री ५ अधिराजकुमार ज्ञानेन्द्रलाई कुनै विदेशी कम्पनीले उसकै लगानीमा नेपालमा उद्योग खडा गर्न लाग्दा आफूले कुनै लगानी नगरी त्यसको पूरै आधा हिस्सा सेयर किन चाहियो ? यसको उत्तर के होला ?