काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले नेपाल र इटालीबीच पर्यटन साझेदारी बढाउन आवश्यक रहेको बताएका छन् । नेपाल पर्यटन बोर्ड र इटालीको रोमस्थित नेपालका लागि महावाणिज्यदूत कार्यालयको संयुक्त आयोजनामा रोममा भएको गन्तव्य प्रबद्र्धन कार्यक्रममा उनले दुई देशबीचको पर्यटन साझेदारीलाई अझै प्रगाढ बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा उनले नेपालका समृद्ध सांस्कृतिक सम्पदा, साहसिक पर्यटन अवसरहरू तथा जैविक विविधताका विशेषताहरू प्रस्तुत गर्दै सन् २०२४ मा १४ हजारभन्दा बढी इटालियन पर्यटक नेपाल भित्रिएको तथ्याङ्क समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा उनले नेपालमा दिगो पर्यटन तथा पूर्वाधार विकासलाई अझ प्रवद्र्धन गर्दै लगिने प्रतिबद्धता समेत जनाए ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक खड्ग विक्रम शाहले कार्यक्रममा नेपालका साहसिक पर्यटन, पदयात्रा मार्गहरू, युनेस्को विश्व सम्पदा क्षेत्रहरू र अनौँठा यात्रा अनुभवहरूबारे जानकारी गराएका थिए । उनले इटालियन टुर अपरेटरहरूलाई आफ्ना प्याकेजहरूमा नेपाललाई समावेश गर्न आग्रह गर्दै इटालियन सञ्चार माध्यमहरूलाई नेपाल पर्यटनसम्बन्धी थप सामग्री प्रकाशन गर्न अनुरोध समेत गरेका छन् । कार्यक्रममा नेपाल सरकार पर्यटन विभागका महानिर्देशक डा नारायण प्रसाद रेग्मीले दुई देशबीचको पर्यटन सम्बन्धलाई अझ बलियो बनाउँदै इटालियन पर्यटकहरूको लागि अविस्मरणीय यात्रा अनुभव प्रदान गर्ने प्रतिबद्धता दोहोर्याए ।
कार्यक्रममा इटालीको विदेश मन्त्रालयका अधिकारीहरू, यात्रा तथा पर्यटन व्यवसायीहरू तथा सञ्चार प्रतिनिधिहरूसहित ३० भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा नेपालका मानार्थ महावाणिज्यदूत पाओलो नुगारीले नेपालप्रति इटालियन पर्यटकहरूको बढ्दो रूचि तथा नेपाललाई साहसिक, सांस्कृतिक एवं सम्पदा अन्वेषणको प्रमुख गन्तव्यका रूपमा चित्रण गरे थिए । नेपाल पर्यटन बोर्डले निकट भविष्यमै इटालियन टूर अपरेटरहरू र मिडियाका लागि नेपाल भ्रमण कार्यक्रम आयोजना गर्ने घोषणा समेत गरेको छ । यस कार्यक्रमले इटालियन पर्यटकहरू माझ नेपाललाई थप परिचित गराउने, पर्यटन साझेदारी सुदृढ गर्ने तथा इटालियन यात्रुहरूलाई नेपालका विविध पर्यटन सम्भावनाहरू अन्वेषण गर्ने अवसर प्राप्त भएको बोर्डले जनाएको छ । साथै, कार्यक्रममा सहभागीमध्येबाट ‘लक्की ड्र’मार्फत विजेता एक जनालाई सात दिने नेपाल भ्रमणको प्याकेज उपहार दिइएको छ । रोमस्थित टूर अपरेटर लौरा ग्रासीले उक्त लक्की ड्र जितेकी छिन् ।