काठमाडौं । पर्यटन व्यवसायीहरूले हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गरेका छन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनीहरूले हवाई टिकटको भ्याट हटाएर अरू विकल्प खोज्न सुझाव दिएका हुन् ।
हवाई भाडा महँगो भएकै कारण विदेशबाट नेपाल आउन लागेका नेपाली नागरिकहरू विदेशी एयरलाइन्सको प्रयोग गर्न बाध्य भएको उनीहरूको भनाइ छ । टिकट महँगिएकै कारण नेपाल आगमन हुने विदेशी पर्यटकमा समेत असर परेको व्यवसायीको दाबी छ । नेपाल वायु सेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले हवाई टिकटमा लगाइएको भ्याटले एयरलाइन्सलाई समेत असर परेको बताए । हवाई यात्रु महँगो टिकट खरिद गर्न बाध्य भएको भन्दै उनले हवाई उड्डयन मात्र नभई पर्यटनका अन्य व्यवसायमा पनि यसको प्रत्यक्ष असर परेको उल्लेख गरे ।
नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले समग्र पर्यटन क्षेत्रमा लगाइने करको नीतिगतरूपमा सहज बनाइनुपर्नेमा जोड दिए । आगामी आर्थिक वर्षको बजेटमा हवाई क्षेत्रलगायत पर्यटनका अन्य व्यवसायमा समेत लगाइने करमा हेरफेर गरिनुपर्ने उनको भनाइ छ । नाट्टाका पूर्वअध्यक्ष मधु आचार्यले सरकारले हवाई टिकटमा लगाएको करलाई हटाएर अन्य विकल्प खोज्न सुझाव दिए । छिमेकी मुलुक भारतमा आन्तरिकमा पाँच प्रतिशत र विजनेस क्लासको टिकटमा १२ प्रतिशत कर लगाएको उदाहरण दिँदै उनले नेपालको सन्दर्भमा कर व्यावहारिक नभएको दाबी गरे । हवाई टिकट महँगो भएकै कारण विदेशी पर्यटक आगमन खुम्चिएको उनको भनाइ छ । पर्यटक आकर्षण गर्न हवाई टिकटमा भ्याट हटाएर अरू उपाय खोज्नु उपयुक्त हुने उनले बताए ।
रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) का अध्यक्ष सङ्घर्ष बिष्टले पनि हवाई टिकट महँगो भएकाले नेपाल आउने विदेशी पर्यटक पनि खुम्चिएकोले व्यावसायिक वातावरण नबनेको बताए । हाल समग्र व्यवसायमा असर परेको उनको दाबी छ । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमार्फत हवाई टिकटमा भ्याट लाग्ने व्यवस्था गरेको थियो ।