भक्तपुर । ‘नवौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले नयाँ वर्ष २०८२ को अवसरमा सो महोत्सव गर्न लागिएको हो ।
संस्थाले बिहीबार पत्रकार सम्मेलन गरी यही चैत २८ देखि आगामी २०८२ सालको वैशाख ७ गतेसम्म महोत्सव गरिने जानकारी दिएको हो । आयोजक संस्थाका अध्यक्ष सन्दीप महतले उपभोक्तालाई एकै स्थानमा दैनिक उपभोग्य तथा सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँ वर्षको अवसरमा महोत्सव आयोजना गर्न लागिएको बताए । महोत्सवमा एक सय ५० बढी स्टल रहने जनाइएको छ । स्थानीय उत्पादन, घरेलु उत्पादन, र नगरपालिकाबाट आएका सिफारिसका आधारमा स्थानीय उत्पादन तथा सिप एवं कलाका स्टल निःशुल्क व्यवस्था गरिने आयोजकले जनाएको छ ।
औद्योगिक उत्पादन, सूचना तथा विज्ञान प्रविधि, प्रविधिसम्बन्धी गतिविधि, अटो मोबाइल, विद्युतीय मेसिन कृषि औजार, मोबाइल तथा इलेक्ट्रोनिक्स सामान, व्यापार तथा पर्यटकीय प्रदर्शनी, लत्ताकपडा तथा भाडाकुँडा प्रदर्शनी एवं बिक्रीका लागि राखिने छ । महोत्सवमा बिक्री गरिने सामानमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको महोत्सवका संयोजक दीपक थापाले जानकारी दिए ।