काठमाडौं । नेपाल एसबीआई बैंक न्युरोड शाखाले विश्व वित्तीय सप्ताह २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार डिएभी कलेज ललितपुरमा उक्त कार्यक्रम सम्पन्न भएको बैंकले जानकारी दिएको छ ।
उज्जवल भविष्यको लागि आर्थिक ज्ञान र सिपद्वारा आगामी पुस्तालाई सशक्त बनाउने उद्देश्यका साथ कार्यक्रम गरिएको बैंकको भनाइ छ । उक्त कार्यक्रममा स्नातक तह व्यवस्थापन संकायमा अध्ययनरत ४५ भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल एसबीआई बैंक न्युरोड शाखाको शाखा प्रबन्धक तेजबहादुर थापाले विद्यार्थीलाई प्रशिक्षण दिएका थिए । हरेक वर्ष मार्च महिनामा साताव्यापीरूपमा मनाइने ग्लोबल मनी विकको यो तेह्रौं संस्करण हो । सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापीरूपमा यो अभियान सञ्चालन हुँदै आएको छ ।
राष्ट्र बैंकको संयोजनमा सन् २०१३ देखि नेपालमा ग्लोबल मनी विक मनाउँदै आइएको छ । यस अभियानबाट हालसम्म विश्वका एक सय ७६ भन्दा बढी मुलकका करिब छ करोड बालबालिका, किशोरकिशोरी र युवाहरू लाभान्वित भएको जनाइएको छ ।