काठमाडौं, नेपाल पत्रकार महासंघ र मिडिया एलाइन्स नेपालले गत शुक्रबार भएको राजावादीको आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको रहस्यमय मृत्यु भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् । मिडिया एलाइन्सले सरकारसँग मृतक रजकलाई निरपेक्षरूपमा सहिद घोषणा गर्नुपर्ने, उच्चस्तरीय समिति गठन गरेर तीन दिनभित्र घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरेको छ ।
गृहमन्त्री रमेश लेखक रहस्यमयरूपमा मृत्यु भएका सञ्चारकर्मी रजकले काम गरेको संस्था एभिन्युज टेलिभिजन पुग्दा मृतक रजकका परिवारजनसहित एभिन्यूज खबर परिवारले उक्त मागपत्र पेस गरेको छ । मृत्यु भएका सञ्चारकर्मी रजकका आफन्तहरुले न्याय नपाएसम्म शव नउठाउने घोषणा गरेका छन् । नेपाल पत्रकार महासंघले सञ्चारकर्मी रजतको हत्याको छानबिन गर्न माग गर्दै चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
त्यसलाई संयोजन गर्न उमिद वागचन्दको नेतृत्वमा सात सदस्यीय कमिटी गठन गरेको छ । महासंघले शनिबार आफ्नो ७१औँ स्थापना दिवसलाई ७७ वटै जिल्लामा विरोधसभामा परिणत गरेको छ । पत्रकार रजकको हत्याको विषयमा सुरक्षा निकायले आगलागी भएको घरबाट निस्कने हरेक व्यक्तिहरुमाथि छानबिन गर्नुपर्ने सोच बनाएको छ भने पीडित परिवार र उनी कार्यरत सञ्चार माध्यमले प्रहरीको ज्यादतीको भिडियो कैद नै उनको हत्याको कारण भएको आशंका गरेको छ । दुबै पक्षबाट फरकफरक दाबी आएको कारण पत्रकार रजकको मृत्युको सम्बन्धमा थप छानबिन हुनुपर्ने देखिएको छ ।