काठमाडौं ।ज्ञानेन्द्र शाहलाई पुनः राजा बनाउने योजनाअनुसार शुक्रबार काठमाडौंको तीनकुनेमा जम्मा भएको भीडले त्यस क्षेत्र र आसपासका दर्जनौँ घरमा तोडफोड र आगजनी ग¥यो । आन्दोलनको नेतृत्व गरेका केही नेताहरूले जम्मा भएको भीडलाई उत्तेजित बनाउँदा ज्ञानेन्द्रलाई तेस्रो पटक राजगद्दीमा स्थापित गर्न आएकाहरू आगलागी, तोडफोड र लुटपाटमा संलग्न हुन पुगे । यद्यपि आन्दोलनरत पक्षले भने प्रहरीले दमन गरेपछि मात्र भीड अनियन्त्रित भएर तोडफोड, आगजनी र लुटपाटमा पुगेको बताएका छन् ।
ज्ञानेन्द्रलाई राजगद्दीमा पुनस्र्थापना गर्न हिँडेको समूहले सडकमा जुन गाडी पायो त्यसलाई तोडफोड गर्ने, आगो लगाउने, सञ्चार माध्यममा तोडफोड गर्ने र पत्रकारलाई पनि कुटपिट गर्ने काम गरे । तीनकुनेमा आक्रमण गरेर भाग्दै गरेको भीडले विभिन्न पार्टी कार्यालय र नेताहरूको घर खोज्दै हिँडेका थिए । उनीहरूले राजाको पक्षमा नाराबाजीभन्दा पनि तोडफोडलाई नै पहिलो प्राथमिकता दिएका थिए । आन्दोलनकारीले सरकारी, निजी घर, गाडी तोडफोड र आगजनीको साथै कोटेश्वरको भाटभटेनी सुपरमार्केट लुटपाट पनि गरे । उनीहरूले जडीबुटी प्रशोधन कम्पनीमा पनि आगजनी गरेका थिए ।
उक्त आन्दोलनको मुख्य नेतृत्व पूर्वपञ्च नवराज सुवेदी र अन्य कमान्डको नेतृत्व दुर्गा प्रसाई, धवल शमशेर राणा, रविन्द्र मिश्रलगायतले गरेका थिए । ज्ञानेन्द्रलाई पुनः राजा बनाउने ठेक्का लिएका सुवेदी र प्रसाईले बिहीबार उनलाई निर्मल निवास पुगेर भेटेका थिए । ज्ञानेन्द्रलाई भेटेको कुरा उनीहरूले पत्रकार सम्मेलन गरेरै जानकारी गराएका थिए । समाजवादी मोर्चाले गणतन्त्रको रक्षा र वर्तमान सरकारलाई खबरदारी गर्न भन्दै भृकुटीमण्डपमा सभा आयोजना गरेका थिए । त्यसलाई छायामा पार्नेगरी कार्यक्रम गर्न ज्ञानेन्द्रले उनीहरूलाई भेटमा निर्देशन दिएको बताइएको छ । सोही निर्देशनअनुसार उनीहरूले शुक्रबार सभा गर्नेभन्दा पनि प्रहरीलाई आक्रमण गर्ने, तोडफोड र आगजनी तथा लुटपाट गर्ने योजना बनाएको थियो ।
लुटपाट गर्न उक्साउँदा भीड उत्तेजित हुने आकलन गरेका ज्ञानेन्द्रले सभा समारोहभन्दा पनि तोडफोड र आतङ्क मच्चाएर भयभीत बनाएर सत्ता कब्जा सजिलै गर्न सकिने आकलन गरेको शुक्रबारको घटनाले देखाउँछ । आन्दोलनको क्रममा गाडी चलाएर निषेक्षित क्षेत्र तोडेको प्रसाईले आपशब्द बोल्दै प्रहरीलाई गाली गरेका थिए । त्यसपछि भीड अनियन्त्रित भएर अगाडि बढेको थियो । प्रहरीले पनि उनीहरूको भेला भएको तीनकुने क्षेत्रमा पटक–पटक अश्रुग्यास हान्ने र गोली चलाउने काम पनि गरेको थियो । गोली लागेर एक जनाको निधन भएको थियो भने आगोबाट जलेर एक जनाको निधन भएको छ ।
आगलागी, तोडफोड र लुटपाटबाट व्यक्ति तथा सरकारी गरी करोडौँ रुपैयाँको क्षति भएको प्रारम्भिक आकलन प्रहरीको छ । भाटभटेनीमा लुटपाट गर्ने सात जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । अन्यको पनि खोजी गरिरहेको छ । तर आन्दोलनको कमान्डर तोएिका दुर्गा प्रसाईँ भने शुक्रबार साँझदेखि नै अलप भएका छन् । उनलाई प्रहरीले खोजी रहेको छ । धवल शमशेर राणा, रविन्द्र मिश्रलगायत एक सयभन्दा बढी पक्राउ परिसकेका छन् । जताततै सीसी क्यामेरा रहेका कारण तोडफोमा संलग्न धेरैको पहिचान हुने प्रहरी अनुमान छ ।