काठमाडौं । निजी सम्पत्ति तथा सञ्चारगृहमा तोडफोड र लुटपाट गर्ने राजावादी समूहलाई कारबाही गर्न निजी क्षेत्रले माग गरेको छ ।
निजी क्षेत्रका संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल उद्योग तथा व्यवसाय महासंघले बेग्लाबेग्लै विज्ञप्ति निकालेर दोषीमाथि कारबाहीको माग गरेका छन् । राजावादी समूहले शुक्रबार तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा मच्चाएको हिंस्रक घटनाको निजी क्षेत्रले निन्दा समेत गरेको छ । साथै, राजावादी समूहको हिंस्रक घटनाबाट भएको क्षतिको परिपूर्ति हुनुपर्ने माग गरेका निजी क्षेत्रले गरेका छन् । उनीहरूले विभिन्न माग राखी हुने आन्दोलन तथा प्रदर्शन र त्यसबाट सर्वसाधारण एवं उद्यमी व्यवसायीको पेसा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन् हुनका साथै निजी तथा सार्वजनिक सम्पत्तिमाथि हुने आक्रमण, लुटपाट, आगजनीलगायत गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । शुक्रबार तीनकुनेमा भएको आन्दोलनका क्रममा मानवीय क्षतिसँगै धनजनको ठूलो क्षति भएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघले सर्वसाधारणको निजी जायजेथा, मिडिया हाउस, व्यावसायिक प्रतिष्ठानको सम्पत्ति, कार्यालय र अन्य व्यापारिक गतिविधिहरूमा आक्रमण, आगजनी, लुटपाटलगायत हिंस्रक घटनाबाट क्षति भएकामा त्यसको भत्र्सना गर्दै क्षतिपूर्तिको माग गरेको छ । ‘संविधानप्रदत्त अधिकारभित्र रहेर आफ्ना माग राख्न पाइए पनि हिंस्रक आन्दोलन एवं प्रदर्शनका साथै लुटपाट, आगजनी, धनजनको क्षति र व्यक्तिगत सम्पत्तिमाथिको आक्रमण निन्दनीय छ’ महासंघले भनेको छ, ‘कुनै पनि स्वरूपमा हुने यस प्रकारका घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघ घोर निन्दा र भत्र्सना गर्छ ।’ साथै महासंघले सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न सम्बन्धित सबैमा आग्रह समेत गरेको छ ।
यस्तै, नेपाल उद्योग परिसंघले विभिन्न माग राखी आन्दोलन, प्रदर्शन गर्न पाउने अधिकार सुरक्षित भए पनि यस्ता कार्यले अरू कसैको अधिकार हनन् गर्न हुँदैन भन्नेतर्फ सचेत हुन आग्रह गरेको छ । ‘निजी सम्पत्ति तथा संचारगृहमा भएको तोडफोड, आगजनी तथा व्यावसायिक प्रतिष्ठानमा भएको लुटपाटको घटना अत्यन्त दुःखद् हो’, परिसंघले भनेको छ, ‘विभिन्न माग राखी आन्दोलन, प्रदर्शन गर्दा आमसर्वसाधारण, विभिन्न पेसा, व्यवसायमाथि भौतिक आक्रमण, व्यक्तिगत सम्पत्तिमाथि आगजनी, व्यावसायिक प्रतिष्ठानमा तोडफोड एवं लुटपाटजस्ता कार्य जहिले पनि निन्दनीय छ ।’
निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनी, लुटपाटजस्ता अराजक गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याई सुरक्षितरूपमा व्यापार, व्यवसाय, पेसा गर्न पाउने अधिकारलाई सुरक्षित बनाउन पनि परिसंघ माग गरेको छ । साथै, यस प्रकारका घटना दोहोरिन नदिन परिसंघले आग्रह गरेको छ ।
यसैबीच, नेपाल उद्योग तथा व्यवसाय महासंघले विगतदेखि नै देशका उद्योगी–व्यवसायीमाथि आक्रमण गर्दै वित्तीय संघसंस्थालाई ध्वस्त बनाई मुलुकको अर्थव्यवस्थालाई अप्ठ्यारो पार्न आक्रमण भएका, ती आक्रमणको उद्देश्य उद्योगी–व्यवसायी र आमजनतालाई आर्थिकरूपमा कमजोर बनाई राज्यलाई नै असफल बनाउने कुत्सित प्रयत्न भएको भन्दै त्यस्ता गतिविधिको निन्दा गरेको छ । राजावादी समूहको आपराधिक गतिविधिको निन्दा गर्दै महासंघले स्वच्छ, पारदर्शी एवं भयरहित वातावरणमा व्यवसाय गर्ने वातावरण निर्माण गर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
‘यस्ता गतिविधिहरूको विरुद्ध सचेत हुँदै व्यावसायिक जगत र जनसमुदायको जनधनको सुरक्षाका लागि सम्पूर्ण सरोकारवाला पक्षलाई सचेत हुन महासंघ हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । साथै, महासंघले शुक्रबारको घटनामा संलग्न सम्पूर्णलाई कानुनी दायरामा ल्याई तत्काल कारबाही गर्न, शान्तिसुरक्षाको प्रभावकारी व्यवस्थाका निम्ति सरकारलाई आग्रह गरेको छ । महासंघले गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि सबै उद्योगी व्यवसायीलाई सक्रिय रहन अनुरोध पनि गरेको छ ।
राजावादीहरूको हिंस्रक आन्दोलनमा दुई जनाले ज्यान गुमाएका छन् भने नेपाल प्रहरीका ५२ जना, सशस्त्र प्रहरीका २२ जना र आन्दोनलकारी ३५ जना घाइते भएका थिए । यस्तै, प्रदर्शनकारीले सरकारी नौ र निजी नौ वटा गरी १५ वटा सवारीसाधनमा आगजनी गरेको प्रहरीले जनाएको छ । साथै, सो समूहले १४ स्थानमा आगजानी, नौ वटा कार्यालयमा तोडफोड र भाटभटेनी सुपरमार्केटमा लुटपाट गरेका थिए । प्रहरीका अनुसार राजावादीहरूले तीनकुनेको अन्नपूर्ण कम्प्लेक्स र मार्बल हाउस, कोटेस्वरको महादेवस्थान, कार्गोको कम्पाउन्डभित्र र गणेश चोक, जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र, समाजवादी पार्टी कार्यालय, सिनामंगलको एरोम्याक्सको कार्यालय भवन, इन्द्रेणी सहकारीको कार्यालय भवन र रोयल रेस्टुरेन्ट, बानेश्वर, बालकुमारी करिडोरलगायतका क्षेत्रमा आगजानी गरेका थिए ।
यसैगरी उनीहरूले अन्नपूर्ण मिडिया हाउस, कान्तिपुर मिडिया हाउस, केएमसी अस्पताल, प्रहरी बिट सिनामंगल, प्रहरी प्रभाग र ट्राफिक प्रहरी प्रभाग कोटेश्वर, समाजवादी पार्टी कार्यालयलगायतमा तोडफोड गरेका थिए भने कोटेश्वरमा रहेको भाटभटेनी सुपर मार्केटमा लुटपाट मच्चाएका थिए । राजावादीहरूको हिंस्रक गतिविधिलाई नियन्त्रणमा लिन सरकारले शुक्रबार अपरान्हदेखि शनिबार बिहान ७ बजेसम्म कर्फ्यु समेत लगाउन परेको थियो ।