दोलखा । १३औं भीमबहादुर तामाङ स्मृति कपको उपाधि चितवनले जितेको छ । शनिबार नुवाकोट र चितवनबीच भएको फाइनल खेलमा नुवाकोटलाई सोझो सेटमा हराउँदै चितवनले उपाधि जितेको हो ।
चितवनले नगद चार लाख रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । यस्तै, उपविजेता नुवाकोटले नगद दुई लाख रुपैयाँमा चित्त बुझाउन परेको छ । प्रतियोगितामा रामेछाप तेस्रो र दोलखा चौथो भएका छन् । उनीहरूले क्रमशः एक लाख ५० हजार र ५० हजार रुपैयाँ प्राप्त गरे । नेपाली काँग्रेस दोलखा क्षेत्र नम्बर १ प्रदेश ‘क’ को आयोजनामा बुधबारदेखि सो प्रतियोगिता सुरु भएको थियो । नेपाली काँग्रेसका नेता भीमबहादुर तामाङको १३ औं स्मृतिमा बागमती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता तथा बृहत् सांस्कृतिक कार्यक्रम दोलखाको बैतेश्वर गाउँपालिका–३ मिर्गे खेल मैदान भएको थियो । विजेतालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ लामाले पुरस्कार वितरण गरेका थिए ।