काठमाडौ । शुक्रबार तीनकुनेमा जे भयो त्यसका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले गठन गरेको राजावादी आन्दोलन समिति संयोजक नवराज सुवेदी तथा यो आन्दोलनका कमान्डर बनाइएका दुर्गा प्रसाईं सबै समान दोषी छन् । अघिल्लो दिन ज्ञानेन्द्रले भेटेर पठाएपछि उक्त ठाउँमा आतंक मच्चियो । यसले देखाउँछ कि यो सबै योजना ज्ञानेन्दैकै तारतम्यमा भएको थियो । यो कुरा स्वयं सुवेदी र प्रसाईंले नै बताएका हुन् । आफूलाई यो आन्दोलनको संयोजक पूर्वराजाले नै बनाएको भनेर पञ्चहरूको घोषणासभामा नै बताएका हुन् । यति ठूलो जनधनको क्षति गराएको आन्दोलनको अघिल्लो दिन यी दुईजनाले नै आफूहरूले ज्ञानेन्द्रलाई भेटेर दुईघण्टा वार्तालाप गरेर आएका भनेर पत्रकार सम्मेलन गरेर नै भनेका थिए ।
भोलिपल्ट जे देखियो त्यो पूर्वयोजनाअनुसार नै भएको भनेर घटनाहरूले नै बताउँछन् । केही मान्छे नमरे र केही भौतिक क्षति नपुगे आन्दोलन नचर्किने भनेर नै दुईजनाको हत्या र भिडबाट लुटपाट मच्चाउन लगाइएको भन्ने स्थलगत अध्ययनका रिपोर्टहरूले देखाइसकेका छन् । त्यसलाई सरकारले पनि अध्ययन गरोस् । यदि यस्ता कुरामा उचितरूपले दण्डित गरिएन भने यी व्यक्ति जीवित रहुन्जेल यस्ता घटना दोहोरिरहने स्थिति बन्छ । त्यसकारण यो घटनालाई जघन्य अपराध नै हो ।
आन्दोलनको कमान्डर भनेर पूर्वराजाले नै तोकेको भनिएका व्यक्तिबाट त्यसदिन जो गरियो त्यो नै दुईजनको हत्या र अर्बौंको लुटपाटको कारक बनेको देखिन्छ । राजावादीहरूको यो प्रदर्शनी सामेल भएकाहरू मञ्चतिर गएनन् । प्रदर्शनीपछि भाषण हुनेमा यो पटक सुरुदेखि नै छाँटकाँट देखिएन । ज्ञानेन्द्रलाई राजा बनाउन लालायितहरूले भाषणलाई महत्व दिएनन् । औपचारिक कार्यक्रम सुरु नभई यो समूह प्रहरीसँग भिड्न र लुटपाट मचाउन लागेको देखिन्छ । मञ्चमा जम्मा भएका राजावादीका नेताहरूले सहभागीलाई पटकपटक मञ्चमा आउन आग्रह गर्दा उनीहरू प्रहरी तर्फमाथि गएका थिए ।
सवा एक बजे आसपासमा एउटा सेतो गाडी आयो । झ्यालबाट टाउको निकालेका दुई जना मान्छे गाडीमा देखिए । अरू गाडी गुडिरहेका थिएनन् । एउटा गाडी हुलमूल भएको ठाउँ अर्थात् तीनकुनेबाट हुइँकिएर सुरक्षाकर्मीको बार राखिएको ठाउँमा एकैछिन रोकियो । एकछिन वादविवाद गरेर पेल्दै–पेल्दै गयो । गइसकेपछि थाहा भयो कि त्यो गाडी दुर्गा प्रसाईंको रहेछ । त्यसपछि धकेलाधकेल सुरु भयो । त्यसभन्दा अगाडि सभा र सम्बोधन केही भएको थिएन । मात्र मान्छेको भिडभाड भइरहेको थियो । ‘दुर्गा प्रसाईं आउँदै छन्’ भन्ने सुनियो । प्रसाईं आइसकेपछि सभा सुरु हुने भन्ने अनुमान थियो । तर उनले भाषणलाई भन्दा ध्यान प्रहरीलाई आक्रमण गर्न बढी लगाए । सुरक्षाकर्मीलाई पेल्दै–पेल्दै अगाडि गए । उनी पास भएर कहाँ गएँ ? हराए ।
उल्लेखित विवरणले नै मूल आयोजक अर्थात् यो कार्यक्रमका कमान्डर नै सभा गर्नेभन्दा पनि वितन्डा मच्चाउनेतर्फ केन्द्रित भएको देखियो । जब मूल व्यक्तिले नै प्रहरीलाई पेलेर पार गर्न खोजेपछि नाराबाजी गरिरहेकाहरू त्यसलाई पछ्याउने भए नै । यस्तो अवस्थामा प्रहरीले लखेट्नु अस्वाभाविक होइन । त्यसपछि प्रदर्शनकारीले झन् बढी ढुङ्गा बर्साउन थाले । भिडन्त झनै चर्किन थाल्यो । यो दिनको अर्को दुःखद् पक्ष केहो भने एकजना पत्रकारलाई जिउँदै जलाएर मारियो । एउटा घरमा आगो लाइयो र बाहिरबाट ढोका लगाइयो । आगो निभाउन गएको दमकललाई पनि लखेटियो । यस्ता कुरा अरूका लागि अप्रत्यासित भए पनि आयोजकका लागि नियोजितजस्तै देखिन्छ । यही हो सबैभन्दा गम्भीर पक्ष भनेको । यसलाई नजरअन्दाज गरेर हँुदैन । यी सबै भइरहँदा यता नेताहरूले भने भिडले नेताको आदेश मान्दैन भनेर यो घटनालाई सामान्यीकरण गरिहेका थिए । जबकि घटनामा जे–जे भए ती सामान्य थिएनन् । यसैदिन अर्को ठाउँमा गणतन्त्रवादीहरूले गरेको प्रदर्शनमा कतै केही पनि नभएको कुरालाई पनि हेक्का राखियोस् । यी सबैले यसका रचनाकारलाई खोजेर कारबाही गर्नैपर्छ ।